काठमाडौं । विद्युतीय गाडी प्रति विश्वकै चासो तिब्रगतिमा बढ्दै गएको छ । यही बीचमा यूरोपियन ब्राण्ड स्कोडाले ‘भिजन ७एस’ कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ईभी डेडिकेटेड लोगोमा देखाएको हो ।
फक्सवागेन ग्रुपले प्रयोग गर्दै आएको ‘एमइवी प्लेटफर्म’मा उत्पादन गर्नेछ । कम्पनीले यसलाई ७ सिट क्षमताको क्रसओभरको रुपमा बजारमा ल्याउने छ । भविष्य केन्द्रित डिजाइन रहेको यो कार स्कोडाको लागि निकै महत्वपूर्ण हुने कम्पनीले विश्वास लिएको छ ।

स्कोडाको नयाँ सीईओ क्लाउस जेल्मारले नयाँ कन्सेप्ट सार्वजनिक गर्दै यो आफ्नो र स्कोडाको लागि यादगार दिन रहेको बताए । उनले नयाँ कन्सेप्टसँगै ब्राण्डको नयाँ लोगो पनि सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।
कम्पनीले सार्वजनिक गरेको भिजन ७एस क्रसओभरमा ८९ किलोवाट आवरको ब्याट्री रहने छ । यसलाई सिंगल चार्जमा ६ सय किलोमिटरभन्दा धेरै गुडाउन सकिने कम्पनीको दावी छ ।

अहिले चल्तीमा रहेको लोगोलाई हटाएर स्कोडाको अंग्रजी अक्षरलाई नै कलात्मक रुपमा लोगो तयार गरिएको छ । यसमा टी आकारमा लाइटहरु प्रदान गरिएको छ । फ्रन्ट र रियर पार्टस्सँग म्याच गराएर स्कीड प्लेट दिइएको छ । कन्सेप्ट कारमा २२ इन्चको अलोय ह्वील दिइएको छ ।




