दशैंमा कम मूल्यको कार खोज्नेलाई ३ विकल्प, मासिक किस्ता १५ हजार

काठमाडौं । दशैं नजिकिएसँगै कार विक्रेता कम्पनीलाई नयाँ कार आयात र बुकिङ लिन हतारो भइरहेको छ । गाडी विक्रेताले शनिवार पनि आफ्ना विक्री केन्द्र खोल्न थालेका छन्, भने नयाँ स्कीम पनि तयार गर्न जुटेका छन् ।

विशेषत कार किन्ने योजना बनाएका धेरै मानिस स्कीम कुरेर बसेका छन् । चाडपर्वको समयमा कुनै नयाँ सामान खरिद गर्ने र चढ्ने हाम्रो परम्परा रहँदै आएको छ । सोही कारण वार्षिक कुल विक्रीको ४० प्रतिशत विक्री असोज र कार्तिक महिनामा हुने गरेको विगतको तथ्यांकले देखाउँछ ।

सहरी क्षेत्रमा बसोबास गर्ने र परिवारमा एक भन्दा धेरै मानिसले कमाउने अवस्थामा रहेका धेरै मानिसले कम मूल्यमा परिवार घुम्न निस्कन मिल्ने कारहरु खोज्ने गरेका छन् । यस्तै ग्राहकलाई केन्द्रीत गर्दै कार निर्माता र विक्रेताले कम मूल्यका कार नेपाली बजारमा उपलब्ध गराउँदै आएका छन् ।

कम्बस्चन इन्जिन भएका कार किन्ने मानिसले मूल्यको ५० प्रतिशत रकम सुरुमै एकमुष्ठ बुझाउनु पर्ने हुन्छ । यो व्यवस्थाले २० लाख रुपैयाँ पर्ने कार किन्न नै एकै पटक १० लाख डाउन पेमेन्ट बुझाउनु पर्ने भएकाले धेरै ग्राहक अलमलमा परेका छन् ।

त्यसैले कम मूल्यको सेग्मेन्टमा चिनियाँ कम्पनीले उत्पादन गरेका कारको विक्री बढ्न थालेको छ । विद्युतीय कार किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्छ । तर, मासिक किस्ता धेरै पर्ने हुँदा उनहरुले पछि व्याजवापत भने धेरै रकम तिर्नु पर्ने हुन्छ ।

अहिले बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको कम्वस्चन इन्जिनयुक्त कार अल्टो ८०० हो । यसको मूल्य १९ लाख ९ हजारबाट सुरु हुन्छ । मारुती सुजुकी अल्टो ८०० निकै सफल गाडी हो । सडकमा ट्याक्सीको रुपमा धेरै अल्टो ८०० गुढिरहेको देख्न सकिन्छ । तर, कम्पनीले निजी कारको रुपमा प्रयोग गर्ने ग्राहकलाई लक्षित गरेर विभिन्न कलर भेरियन्टमा यसलाई उपलब्ध गराएको छ ।

अहिले बैंकले ८ प्रतिशत व्याजदरमा अटो लोन उपलब्ध गराएकाले ग्राहकले ७ वर्षे किस्ता अवधिमा मासिक १४ हजार ७०० रुपैयाँ तिर्नेगरी अल्टो खरिद गर्न सक्ने छन् । अल्टोको टप भेरियन्ट किन्दा पनि मासिक १७ हजारसम्म किस्ता तिर्नुपर्छ ।

विद्युतीय कार दिगो इ८, २१ लाख ९४ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । यसलाई ग्राहकले २० प्रतिशत डाउन पेमेन्टदेखि नै खरिद गर्न सक्ने छन् । तर, २० प्रतिशत डाउन पेमेन्टगर्दा यसको मासिक किस्ता २६ हजार हाराहारी पर्न आउँछ । यो कार विशेषत सहर लक्षित कार हो । यसले एक पटकको फुल चार्जमा १४० किलोमिटर रेञ्ज दिन्छ ।

अर्को इलेक्ट्रीक ब्राण्ड डेरीका इभी ७ र इएम ७ पनि विद्युतीय कार हुन् । यी दुबैको मूल्यमा जम्मा ४० हजार रुपैयाँको मात्रै फरक रहेको छ । इभी ७ को मूल्य १९ लाख ५० हजार र इभीएम ७ को मूल्य १९ लाख ९० हजार तोकेर विक्री हुँदै आएका छन् । यसको पनि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने हो भने १५ हजार हाराहारी मासिक किस्ता पर्न आउँछ । तर, २० प्रतिशत डाउन पेमेन्टमा खेज्नेले भने २४ हजार हाराहारी मासिक किस्ता बुझाउनु पर्ने हुन्छ । यसले फुल चार्जमा २५० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीको दावी छ ।


Back_to_top