काठमाडौं । नेपाल सरकारको कारण खराब विद्युतीय गाडी नेपाल आउने क्रमम रोकिएको छैन । विगत ३÷४ वर्षमा करिब एक दर्जन ब्राण्डका मिनी कार नेपाल आएपनि सुरक्षाको हिसावले अधिकांश प्रोडक्ट जोखिमपूर्ण छन् ।
चिनियाँ बजारबाट ब्राण्ड नेम नै नभएका ईभीहरु किनेर ल्याउने र नेपाली आम उपभोक्तालाई ठगी गर्ने उद्देश्य आयातकर्ताहरुमा देखिन्छ । एकाध बाहेक अन्य आयातकर्ताले खराब गाडी पनि राम्रो भनेर विक्री गरिरहेका छन् ।
अहिले यस्ता साना ईभी नेपाल ल्याउन करिब २ दर्जन नवप्रवेशी अटो ब्यवसायीहरु लागि परेका छन् ।
अहिले बजारमा उपलब्ध मिनी ईभीमा विलिङ र हेनरी जस्ता उत्पादन हेर्दा ठिक ठाक देखिएपनि यी साधनको पनि सुरक्षा मापदण्ड र क्र्यास टेस्ट रिपोर्ट अहिलेसम्म बाहिर आएको छैन ।
यी गाडीको अलावा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले पनि जियासुङ हाउजी अटोको एउटा मिनी ईभी नेपाल ल्याएको थियो । त्यसको गुणस्तरको मुद्दा देखाउँदै कम्पनीले नै यसको विक्री वितरण गरेन । तर, सीजी मोटर्स बाहेक कमसल ईभी ल्याएर विक्री गर्ने दिगो ई८, डेरी एम ७, साइनरे मिनी लगायतका थुप्रै कम्पनीले त्यसको गुणस्तरलाई ध्यान दिएको पाइन्न ।
अहिले पनि रसुवाको केरुङ नाका हुँदै केही नयाँ मोडलका गाडी नेपाल आइरहेका छन् । जसमा रन्टोई मिनी ईभी एउटा मोडल हो । बुढापाका उमेर समूहलाई केन्द्रमा राखेर तयार पारिएको भनिएको रन्टोई मिनी ईभी कुन ब्यापारीक समुहले नेपाल ल्याएको हो भन्ने अझै खुलेको छैन ।
अहिले यस्ता साना ईभी नेपाल ल्याउन करिब २ दर्जन नवप्रवेशी अटो ब्यवसायीहरु लागि परेका छन् । यी कम्पनीले साना ईभी ल्याएर बजारमा विक्री सुरु गर्नुअघि नै साना ईभीको मापदण्ड तोक्नु पर्छ । त्यतातर्फ सरकारको ध्यान जान जरुरी छ । अन्यथा बजारमा कमजोर ईभीको संख्या बढ्ने र कालान्तरमा यी गाडीको ब्यवस्थापन चुनौति पूर्ण हुने देखिन्छ ।

‘साना र सहर लक्षीत ईभी आवश्यक हुन्छ । तर, त्यस्ता ईभीले न्यूनतम सुरक्षा मापदण्ड र गुणस्तर पुरा गरेको हुनुपर्छ । अन्यथा धनसँगै ज्यानको जोखिम बढ्छ’, विद्युतीय सवारीसाधन र वातावरणलाई नजिकबाट नियाली रहेका गणेश शाहले मेरोअटोसँग भने ।
विद्युतीय सवारीसाधन निकै जोखिमपूर्ण हुनसक्ने मत धेरैले राख्दै आएका छन् । यातायात व्यवस्था विभागले ईभीको गुणस्तर तोक्नु पर्ने विषयलाई प्राथमिकतामा राखेर काम गरिरको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई बताउँछन् ।
साना ईभी ल्याएर केही यूनिट विक्री गर्ने र त्यसपछि बजारमा गुडेका गाडीलाई आवश्यक सर्भिस उपलब्ध नगराउने परिपाटी बढिरहेको उपभोक्ताको गुनासो छ । यस्ता गुनासा विगतमा विक्री भएका डेरी, दिगो लगायतका ब्राण्डमा नै सुनिने गरेको छ ।

