काठमाडौं । केही दिन अगाडि न्यूरोड जाँदा २ पांग्रे तथा ४ पांग्रे सवारी निःशूल्क पार्किङ गर्ने ठाउँहरु देख्न सकिन्थ्यो । तर, अब सोही निःशुल्क सवारी पार्किङ स्थानलाई काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ बनाउन सुरु गरेको छ ।
यसअघि न्यूरोडमा धर्मपथ, पाको न्यूरोड, विशालबजार चोकबाट दाइने, देब्रे दुबैतिर, एभरेष्ट बैंकबाट उताको लाइन, पिपलबोट प्रहरी बिटको लाइनमा निःशुल्क पार्किङ्गको व्यवस्था थियो । जहाँ अहिले परिक्षणकालका रुपमा स्मार्ट पार्किङ सुरु भएको छ ।
उक्त स्थानमा केही वर्षअघि महानगरले पार्किङ गरे वापत शुल्क उठाउने गरेको भएपनि पछि निःशुल्क पार्किङ गर्न दिदै आएको थियो । अब पुनः स्मार्ट पार्किङको व्यवस्था भएसँगै महानगरपालिकाले शुल्क उठाउने भएको हो ।
महानगरका प्रवक्ता इश्वरमान डंगोलले अब ति स्मार्ट पार्किङ प्रयोग गरेवापत शुल्क लाग्ने जानकारी दिए ।
उक्त स्थानहरुमा हाल स्मार्ट पार्किङ साइनबोर्डहरु राखिएको छ । त्यहाँ ३/४ जना कर्मचारी समेत खटाइएको देख्न सकिन्छ । यद्यपी ति स्थानमा पार्किङ गरिएका सवारीसाधन व्यवस्थीत भने देख्न सकिदैन ।
महानगरले औपचारिक रुपमा स्मार्ट पार्किङ सुरु गरे लगतै २ पांग्रे सवारी पार्किङको प्रतिघण्टा २५ रुपैयाँ र ४ पांग्रे सवारी पार्किङ गरेको ६० रुपैयाँ शुल्क लिने योजना बनाइरहेको छ ।
हाल ति स्थानमा उचित पूर्वाधार व्यवस्थापन कार्य सम्पन्न नभएका कारण प्रारम्भिक परिक्षणको रुपमा मात्र सवारीसाधन पार्किङ गराइरहेको विल्स ट्रुली योर ड्रिम्सका इन्जिनीयर हरिस अग्रवालले बताए ।
कम्पनीले परिक्षण गरिरहेको पार्किङ स्थल कतै स्मार्ट जस्तो भने देखिदैन । पहिला जसरी नै पार्किङको व्यवस्था गरिएको र ठाँउ–ठाउँमा पार्किङ सम्बन्धी जानकारी दिने बोर्डहरु मात्र ठडाईएका छन् । यहाँ कुनै सवारीसाधन पार्क गर्ने लाइन समेत कोरिएको छैन ।


