काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागु हुनेगरि सार्वजनिक सवारीको भाडा १० देखि १२ प्रतिशतले वृद्धि भएको छ ।
सार्वजनिक सवारीको भाडा वैज्ञानिक मापदण्ड अनुसार बढाइएको विभागको भनाई छ । इन्धनको ३५ प्रतिशत भार र अन्यको ६५ प्रतिशत भारलाई आधार मानेर भाडा समायोजन भएको यातायात व्यवस्था विभागका सूचना अघिकारी तीर्थराज खनालले जानकारी दिए ।
‘सबैखाले सार्वजनिक सवारीको भाडा १० देखि १२ प्रतिशत वृद्धि गर्ने निर्णय भएको हो,’ खनालले भने, ‘समायोजन भएको भाडा असार १ गतेदेखि लागु हुनेछ ।’ बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मीलगायत सरोकारवालासँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाई छ ।
२०७२ देखि भाडा समायोजन नभएको भन्दै यायायात व्यवसायीले भाडा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए ।
ट्याक्सी भाडा फ्ल्याट डाउन प्रणाली लागू गर्ने भएको छ । यो प्रणाली भनेको चढ्ने बित्तिकै मिटरमा उठ्ने भाडा दर हो । विगतमा ट्याक्सी चढ्ने वित्तिकै १४ रुपैयाँ उठ्थ्यो र त्यस पछि दुरीका आधारमा माडा उठ्दै जान्थ्यो ।
अब भने ट्याक्सीमा यात्रा गर्ने उपभोक्ताले ट्याक्सी चढ्ने वित्तिकै ५० रुपैयाँ तिर्नु पर्छ र उक्त पैसाले १ किलोमिटर यात्रा गर्न पाउँछन् । तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ ।


