भारतमा बन्यो सोलारबाटै ३ हजार किमी चलाउन सकिने ईभी

काठमाडौं । भारतीय स्टार्टअप कम्पनी ‘भाइभ मोबिलीटी’ले आगामी महिना भारतको नयाँ दिल्लीमा हुने भारत मोविलीटी शो २०२५ मा नयाँ विद्युतीय कार सार्वजनिक गर्ने भएको छ । अटो एक्स्पो २०२३ मा पहिलो पटक कन्सेप्ट डिजाइन देखाएको कम्पनीले यस वर्ष प्रोडक्सन मोडल देखाउन लागेको हो ।

भाइभ ईभा नाम दिइएको कारको मुख्य आकर्षण भनेको छतमा दिइएको ठूलो साइजको सोलार प्यानल हो । उक्त सोलार प्यानलको सहायताले वार्षिक ३ हजार किलोमिटर गुडाउन पुग्ने ब्याट्री चार्ज हुनेछ ।

तीन सिट क्षमताको विद्युतीय कारको लम्बाइ ३०६० एमएम, चौडाइ ११५० एमएम र उचाइ १५९० एमएम छ । यसको ह्वीलवेस २२०० एमएम लामो छ भने १३ इन्चको ह्वील साइज पाउन सकिन्छ ।

क्वाड्रिसाइकल जस्तै डिजाइन भएको कारमा उत्कृष्ट एरोडाइनामीक इफिसीयन्सी पाउन सकिन्छ । कम्पनीले मुनस्टोन ह्वाइट, लाइट प्लाटिनम, रोज कोरल, स्काई ब्लु, स्याम्पीयन गोल्ड र चेरी रेड गरी विभिन्न ६ कलर अप्सनमा यसलाई बजारमा ल्याउन लागेको हो ।

अगाडि चालकको लागि मात्रै १ सिट रहने कारमा पछाडि दुई जनाले सहज यात्रा गर्न सक्नेछन् । सहरी क्षेत्रमा चलाउन सहज हुने किसिमले डिजाइन गरिएको कारमा फिचरहरुको लामो लिष्ट पाउन सकिन्छ ।

सानो कार भएता पनि ईभा मोडलमा टचस्कृन र डिजिटल इन्फर्मेसन डिस्प्ले, एड्रोइड अटो, एप्पल कार प्ले, स्मार्टफोन कनेक्टीभीटी, स्काई रुफ, सिक्स वे एड्जस्टेवल ड्राइभर सिट, क्लाइमेट कन्ट्रोल, रिमोट मोनिटरिङ सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।

भाइभ ईभामा १४ किलोवाट आवरको लिक्विड कुल्ड ब्याट्रीप्याक रहने छ । यसलाई एक पटकको फुल चार्जमा २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दावी गरेको छ ।

डीसी फास्ट चार्जर समेत सपोर्ट गर्ने ईभा मोडललाई ५ मिनेट चार्ज गर्दा ५० किलोमिटरसम्म यात्रा गर्न पुग्ने ब्याट्री चार्ज हुन्छ । कम्पनीका अनुसार दैनिक ३५ किलोमिटर हाराहारी यात्रा गर्नेको लागि उत्कृष्ट हुनेछ ।

भाइभ ईभामा ४० न्यूटनमिटर टर्क भएको रियर ह्वील ड्राइभ मोटर दिएको छ । यसले ५ सेकेण्डमा शून्यबाट ४० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउने छ । यसको अधिकतम स्पीड ७० किलोमिटर प्रतिघण्टासम्म रहनेछ ।

ईभा मोडलमा ब्याट्रीप्याक गाडीको फ्लोर मुनी दिइएको छ । उक्त ब्याट्री आईपी ६८ वाटर प्रुफ रेटेड हो । सुरक्षाको लागि ड्राइभर एयरव्याग र सिट बेल्ट सबै प्यासेन्जरको लागि उपलब्ध रहनेछ ।


Back_to_top