काठमाडौं । जापनीज कार निर्माता निसान र अमेरिकी अन्तरीक्ष एजेन्सी नासा मिलेर इलेक्ट्रीक भेहिकलका लागि नयाँ ब्याट्री विकास गरिरहेको खवर सार्वजनिक भएको छ । यो प्रोजेक्टको प्रमुख लक्ष्य सानो र सस्तो सोलिड स्टेट ब्याट्री बनाउनु हो ।
यी दुई कम्पनी मिलेर बनाउन लागेको ब्याट्रीले अहिले चल्तीमा रहेको लिथियम आयोन प्रविधिलाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ । नयाँ खोजले अहिले प्रयोग भइरहेको कोवाल्ट र लिथियम जस्ता दुर्लभ र महंगा खनिज पदार्थ बचाउन सहयोग पुग्नेछ ।
नासा र निसानले ‘सोलिड स्टेट’ ब्याट्रीलाई सुरक्षा र स्थीरतालाई मुख्य प्राथमिकतामा राखिएको जनाइएको छ । यो ब्याट्रीलाई फुल चार्ज गर्न अहिलेको जस्तो घण्टौ लाग्ने छैन । झण्डै १५ मिनेटमा फुल चार्ज गर्न सकिनेगरी यसको विकास भइरहेको छ । यसले परम्परागत पेट्रोल स्टेशनमा इन्धन भेरे जति नै समयमा चार्ज गर्न सक्षम हुनेछ ।
हाल प्रयोग भइरहेको इभीको ब्याट्रीमा लिक्विड वा पोलिमर कम्पोनेन्ट रहको हुन्छ तर, सोलिड स्टेट ब्याट्रीमा सोलीड इलेक्ट्रोडको प्रयोग गरिन्छ । एतिहासिक रुपमा सोलीड स्टेट ब्याट्रीमा इनर्जी डेन्सीटी कम हुने भएता पनि आधुनिक प्रविधिको विकाससँगै यस्ता ब्याट्री इभीमा प्रयोग योग्य हुनेछन् ।
यो अनुसन्धान सफल भएमा इलेक्ट्रीक भेहिकलको दुनियाँमा क्रान्ति आउने छ । निसान बाहेक टोयोटा, फक्सवागेन, फोर्ड र जनरल मोटर्स पनि सोलिड स्टेट ब्याट्रीको अनुसन्धानमा लागेको खवरहरु बाहिर आएका छन् । निसान र नासाले भने सन् २०२४ मा पाइलट प्लान्ट लगाउने र सन् २०२८ मा प्रोडक्ट नै लन्च गर्ने लक्ष्य राखेका छन् ।


