काठमाडौं । इलेक्ट्रीक सवारीसाधनको बिक्री बढ्दै गएसँगै सबै किसिमका साधनहरु ईभीमा आउन थालेका छन् । कार, मोटरसाइकल, स्कुटर माइक्रो भ्यानपछि पीकअप ट्रक बजारमा आउन थालेका छन् ।
लाइट कमर्शियल सेग्मेन्टमा एसआरएमका विद्युतीय माइक्रो भ्यानहरु ल्याएर बिक्री गर्दै आएको पुजा कन्ट्रक्सनले इलेक्ट्रीक पीकअप ट्रक पनि ल्याएको हो । कम्पनीले ३६ लाख मूल्य तोकेर बिक्री गर्ने योजनासहित एसआरएमको टी-३ ट्रक नेपाल ल्याएको हो ।
आगामी भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा प्रदर्शनी गर्न लागिएको पीकअप ट्रकमा ४१.८६ किलोवाट आवरको ब्याट्री प्याक रहने छ ।
एसआरएमको पीकअप ट्रकमा डे टाइम रनिङ लाइट सहितको हेडल्याम्प, पावर स्टेरिङ, एसी, इन्फोटेन्टमेन्ट सिस्टम, १५ इन्चको ह्वील र १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
यो पीकअप ट्रकले १ हजार ६०० किलोग्राम लोड बोकेर ओसार पसार गर्ने क्षमता राख्छ । यसमा ३१०० एमएम लामो, १६८० एमएम चौडा र ३७० एमएम अग्लो कार्गो स्पेश दिइएको छ । यस ट्रकको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहने छ ।
कम्पनीले यसमा रहेको ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ । पीकअप ट्रकको पुरा लम्बाई भने ५१९० एमएम छ ।