काठमाडौं । सरकारी सवारी साधनको पूर्ण निर्जीवन बीमा (कम्प्रिहेन्सिभ इन्स्योरेन्स) गर्न सुरू भएको छ ।
अर्थमन्त्रालयको स्वामित्वमा रहेका २० वटा चारपाँग्रे सवारी साधनको पूर्ण निर्जीवन बीमा गरिएको हो ।
अब क्रमशः अन्य मन्त्रालय तथा निकायहरूको स्वामित्वमा रहेको सवारी साधनको पनि पूर्ण बीमा गरिने जनाइएको छ ।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनको कम्प्रिहेन्सिभ निर्जीवन बीमा गर्ने निर्णय गरेको थियाे ।
यसअघि सरकारी सवारी साधनको पूर्ण बीमा गरिँदैन्थ्यो । गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा आगजनीका कारण हजारौं सरकारी सवारी साधन नष्ट भए । तर, बीमा नहुँदा राज्यले ठूलो क्षति व्यहोरेको थियो । त्यही घटनाबाट पाठ सिकेर सरकारले सरकारी सवारी साधनको बीमा गर्ने निर्णय गरेको हो ।
पूर्ण बीमा गरिएसँगै अब सरकारी सवारीमा आगजानी, दूर्घटना, बाढीपहिरो लगायत कारण क्षति पुगेमा क्षतिपूर्ति पाउँछन् । साथै, नयाँ सवारी खरिदका लागि स्रोत व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ
‘आगजानी, दूर्घटना जस्ता कारणबाट क्षति हुन गएमा बीमा दाबीको रकमबाट सवारी साधन खरिद गर्न सकिने हुँदा सरकारी कोषबाट हुने खर्चमा कमी आउने, प्राथमिकता क्षेत्रको स्रोत व्यवस्थापन सहज हुने र सार्वजनिक प्रभावकारी हुने अपेक्षा गरिएको छ,’ मन्त्रालयले भनेको छ ।

