कम मूल्य, एसयूभी लुक्स र सेडान कार जस्तो लग्जरी फिचरले तताएको बजार

काठमाडौं । तपाई कस्तो गाडी खोज्नु हुन्छ ? आफ्नो बजेट सुहाउँदो, आरमदायी, स्टाइलिस र सहजै ह्याण्डलिङ गर्न सकिने किसिमको जो कोहीको सहज उत्तर हो यो । यस्तोमा बजारमा उपलब्ध कुन गाडीमा धेरै मानिसले आफ्नो बनाउने योजना बनाएका हुन्छन् भन्ने प्रश्नको सहज उत्तर कम्प्याक्ट एसयूभी हो ।

अहिले नेपाली बजारमा हरेक जसो गाडी कम्पनीले यो सेग्मेन्टमा आफ्नो उत्पादन बिक्री गर्दै आएका छन् । कम मूल्य, एसयूभीको लुक्स र आकर्षक डिजाइन भएका फोर्ड इकोस्पोर्ट, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, होन्डा बीआरभी, हुन्डाई भेन्यू, महिन्द्रा टीयूभी ३००, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलले यस सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली बजारमा वार्षिक औषत ३ हजार यूनिट हाराहारीमा यस सेग्मेन्टका गाडी बिक्री भइरहेकाे छ । जुन ह्याचव्याक सेग्मेन्टपछि सर्वाधिक बिक्री हुने सेग्मेन्टमा पर्छ । यस्तोमा ग्राहकको रोजाईमा यो सेग्मेन्टका एसयूभी पर्नुको कारण जो कोहीलाई जान्न मन लाग्नु स्वभाविक हो ।

पछिल्ला ५ महिनामा नयाँ दुई मोडलका गाडी नेपाली बजारमा आएका छन् । जसमा हुन्डाई भेन्यूले धमाकेदार बिक्रीसँगै बजारमा इन्ट्रि गरेको छ, भने महिन्द्राको पछिल्लो एसयूभी एक्सयूभी ३०० पनि बजारमा राम्रै व्यापार गर्न सुरु गरेको बताइएको छ ।

टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङको प्यासेन्जर कार यूनिटका हेड सावन्तजंग सिजापतिका अनुसार कम्प्याक्ट यूटिलिटी भेहिकल अहिलेको सर्वाधिक चर्चित सेग्मेन्ट बन्नुमा यी गाडी एसयूभी जस्तो लुक्स र सेडान कार जस्तो लग्जरी भएका कारण हो ।

‘पछिल्ला दिनमा सब फोरमिटर एसयूभी निकै चर्चामा रहेका छन्, ग्राहकले सेडान कार र एसयूभीको फिल यही सेगमेन्टमा एकैसाथ पाउने भएकाले ग्राहकको रोजाईमा धेरै पर्ने गरेको हो’, सिजापतिले मेरोअटोसँग भने ।

त्यसोत यो सेग्मेन्टमा सन् २०१३ देखि इकोस्पोर्ट नेपाली बजारमा आएको हो । फोर्ड इकोस्पोर्टको बिक्रीलाई हेर्दै बजारमा टोयोटाले क्रसओभर इटियोस र फियातले आफ्नो क्रसओभर कार एभेन्च्यूरा नेपाली बजारमा उतारेका थिए । तर, ग्राहकको रोजाईमा क्रसओभर नभएर एसयूभी भेहिकल थियो । यी दुबै गाडीले सोचे अनुसारको व्यापार गर्न सकेनन् ।

इकोस्पोर्टको बजारलाई टक्कर दिनसक्नेगरी कुनै सब फोर मिटर एसयूभी नेपाली बजारमा आएको थिएन । बजारमा उपलब्ध रहेको टियूभी ३०० ले पनि खासै व्यापार गर्न सकेन । तर, सन् २०१७ मा आएको मारुती सुजुकी ब्रेजा र २०१८ मा आएको टाटा नेक्सनले बजारमा राम्रो व्यापार गर्न सफल भएका छन् ।

‘सब फोर मिटर सेग्मेन्टको सबैभन्दा सबल पक्ष भनेको ‘भ्यालु फर मनि’ हो । साथमा यसमा लाग्ने कम सर्भिस कष्ट र एसयूभी लुक्सले ग्राहकको मन जित्न सफल भएको हो’, जिओ फोर्डका जनरल म्यानेजर सुनिल क्षेत्रीले मेरोअटोसँग भने ।

क्षेत्रीको भनाइलाई आधार मान्दा पछिल्लो समय आएका एकपछि अर्को कम्प्याक्ट एसयूभीले बजारमा राम्रो व्यापार गरिरहेका छन् । पछिल्ला ५ महिनामा नयाँ दुई मोडलका गाडी नेपाली बजारमा आएका छन् । जसमा हुन्डाई भेन्यूले धमाकेदार बिक्रीसँगै बजारमा इन्ट्रि गरेको छ, भने महिन्द्राको पछिल्लो एसयूभी एक्सयूभी ३०० पनि बजारमा राम्रै व्यापार गर्न सुरु गरेको बताइएको छ ।

थपिदै नयाँ मोडल

यही सेग्मेन्टमा अझ केही मोडलहरु थपिने तयारीमा रहेका छन् । निसान ग्रुपको इन्ट्रीलेबल ब्राण्ड डाट्सनले सन् २०२१ सम्ममा भारतमा नयाँ कम्प्याक्ट एसयूभी ल्याउने भएको छ । त्यसैगरी रेनोले पनि नयाँ कम्प्याक्ट एसयूभी यही वर्षको अन्त्यसम्ममा बजारमा उतार्ने जनाइएको छ ।

फक्सवागन, टोयोटा, स्कोडा जस्ता ब्राण्डलेपनि आगामी दिनमा सब फोर मिटर एसयूभी बजारमा ल्याउने घोषणा गरिसकेका छन् । यस्तोमा यो सेगमेन्टमा हुने प्रतिस्पर्धालाई निकै रोचक साथ हेर्न पाइने छ ।


Back_to_top