एउटै इलेक्ट्रीक बाइकमा ७४ हजार बढी असुल्दै दिगो ग्रुप

काठमाडौं । आस्टा अटोमोवाइलले नेपाली बजारमा २ लाख ७४ हजार रुपैयाँमा बिक्री गर्दै आएको सुपर सोको टीसी मोडलको इलेक्ट्रीक मोटरसाइकल अटो शोमा दीगो ग्रुपले प्रदर्शनी गर्दै ३ लाख ४८ हजार रुपैयाँ मूल्य राखेर बिक्री गरिरहेको छ । यी दुबै कम्पनीले सुपर शोको ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

दिगो ग्रुपले एउटै मोटरसाइकलमा आस्ता अटो मोवाइलको तुलनामा ७४ हजार बढी मूल्य राखेर बिक्री सुरु गरेको हो ।

केही समय पहिला नेपाली बजारमा सार्वजनिक भएको इलेक्ट्रीक मोटरसाइकल सुपर सोको आस्टा अटोमोवाइलले ल्याएको थियो भने अटो शोमा दिगो ग्रुपले प्रदर्शनी गरेको छ ।

दिगो ग्रुपले हाल नेपाली बजारमा दाहे इलेक्ट्रीक कारको समेत बिक्री गरिरहेको छ । 

यस्तो छ, सुपर सोको टीसी

सुपर सोको टीसी बाइकमा ६० भोल्टको ३० एएचको मोटर रहेको छ । यो मोटरले अत्याधिक १५० एनएम टर्क जेनेरेट गर्छ । ८४ किलोग्राम तौल रहेको यो बाइकमा पनि दुई व्याट्री अप्सन रहेको छ । एउटा व्याट्री प्याकले एक पटकको फुलचार्जमा ८० किलोमिटर यात्रा गर्न सकिन्छ भने, अर्को अप्सनमा जाँदा १६० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । 

यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । यसमा एलइडी हेडल्याम्प, रियर र फ्रन्टमा डिस्क ब्रेक, रिमोट कन्ट्रोल, ब्ल्टुथ कनेक्टीभीटी जस्ता फिचर रहेका छन् । 

अटो शोमा अवलोकनकर्ताको भीड

नेपाली अटो व्यवसायीहरुको कुम्भमेला अर्थात नाडा अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । यस अटो शोमा विभिन्न कम्पनीले ग्राहकलाई आकर्षित गर्न नयाँ नयाँ उत्पादन भित्र्याउनुका साथै विभिन्न अफरसमेत प्रदान गरिरहेका छन् ।

गत मंगलबारबाट सुरु भएको अटो शोमा अघिल्लो वर्षको दुई दिनको तुलनामा यसपटक झन्डै दोब्बर बढीले अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले जनाएको छ ।

अटो शोमा इलेक्ट्रीक भेइकलको साथमा नयाँ नयाँ मोडलका कार तथा मोटरसाइकलहरुको प्रदर्शनी भएको छ । 


Back_to_top