सूर्यविनायक-धुलिखेल सडकका दुई पुलको रि-डिजाइन स्वीकृत

काठमाडौं । अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडकमा बन्ने दुई वटा पुलको रि-डिजाइन स्वीकृत भएको छ । सडक विभागले काभ्रेपलाञ्चोकको पूण्यमाता र भक्तपुरको जगाती खोला पुलको रिडिजाइन स्वीकृति गरेको हो ।

सूर्यविनायक-धुलिखेल सडकखण्डमा भक्तपुरको जगाती, काभ्रेको महादेव र पुण्यमाता खोलामा नयाँ पुल निर्माण हुँदै छन् । तीमध्ये पूण्यमाता र जगाती पुलको सुरूमा बनाइएको डिजाइनमा स्थानीयले विरोध गरेपछि त्यसमा संशोधन गरी नयाँ डिजाइन गरिएको हो ।

सूर्यविनायक-धुलिखेल सडक आयोजना प्रमुख विजयकुमार महतोले पूण्यमाता र जगाती पुलको संशोधित डिजाइन सडक विभागले स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार पूण्यमाता पुलको उचाइ र जगातीपुलको एलायनमेन्ट संशोधन गरिएको छ ।

‘सूर्यविनायक-धुलिखेल सडक चारलेनमा स्तरोन्नति भइरहेको छ । पुराना पुल रहेका ३ ठाउँमा पनि सडक सरहै फराकिलो बनाउन नयाँ पुल बनाइँदै छ । तीमध्ये पूण्यमाता र जगाती पुलको डिजाइनमा स्थानीयले विरोध गरेका थिए । काम सुरू हुन सकेको थिएन,’ उनले मेरोअटोसँग भने, ‘अहिले स्थानीयको माग केही सम्बोधन गरी नयाँ डिजाइन गरिएको हो । उक्त डिजाइन सडक विभागले गत साता मात्रै स्वीकृत गरेको छ ।’

सुरूको डिजाइन अनुसार पूण्यमाता पुल ३.५ मिटर अग्लो बनाउने तय भएको थियो । तर, सडक र पुल अग्लो बनाउँदा बस्ती डुबान हुनेभन्दै स्थानीयले विरोध गरेपछि अहिले उचाइ घटाएर २.६ मिटर कायम गरिएको उनले बताए । यो पुलको लम्बाइ २० मिटर रहेको छ ।

त्यस्तै, जगतीमा खोला बांगो भएर बगेको छ । सुरूमा पुलको डिजाइन सिधा गरिएको थियो । तर, पुल बन्ने स्थानका चार वटै वडाका स्थानीयले खोला जस्तै छड्के पुल बनाउन माग गरेका थिए । अहिले पहिलाको एलायनमेन्टमा केही संशोधन गरी नयाँ डिजाइन गरिएको आयोजना प्रमुख महतोले बताए । यो पुल करिब १२ मिटर लामो छ ।

पुलको रि डिजाइन स्वीकृत भएसँगै ठेकेदारले फिल्डमा काम सुरू गरेको उनले बताए । ‘डिजाइन टुंगो नहुँदा ठेकेदारले काम थालेको थिएन । नयाँ डिजाइन स्वीकृत भएसँगै फिल्डमा कामदार खटाएका छन् । फाउण्डेसन निर्माण अघिको पूर्वकार्य भइरहेको छ,’ उनले भने ।

त्यस्तै, काभ्रेकै महादेवखोला पुल निर्माणमा कुनै समस्या नभए पनि प्रगति निकै सुस्त छ । हालसम्म यो पुलको २० प्रतिशत काम सकिएको उनले बताए । हाल यो पुलको फाउण्डेसनको काम भइरहेको छ ।

सूर्यविनायक-धुलिखेल सडकमा ३ वटा पुल निर्माणका लागि छुट्टै ठेक्का लगाइएको छ ।  तीनै पुल निर्माणको ठेक्का हिमदुङ एण्ड थोकर-रामजानकी जेभीले ५७ करोड ५० लाख रुपैयाँमा (भ्याटसहित) पाएको छ । पुल निर्माणको ठेक्का सम्झौता २०७९ चैत ६ गते भएको थियो । सम्झौता अनुसार २०८२ असोज ५ गते भित्र काम सकिसक्नुपर्ने हो । तर, डिजाइन विवादका कारण काम हुन नसकेपछि २०८३ मंसिरसम्म म्याद थपिएको छ ।

सडकको ५३ प्रतिशत काम सकियो

१५.८ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति भइरहेको छ । ८.३ किमी साँगा-धुलिखेल र ७.५ किमी सूर्यविनायक-साँगाको छुट्टाछुट्टै ठेक्का लगाइएको छ । हालसम्म दुवैखण्डको समग्रमा ५३ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख महतोले जानकारी दिए ।

उनका अनुसार साँगा-धुलिखेलखण्डको ६१ प्रतिशत र सूर्यविनायक-साँगाखण्डको ४४ प्रतिशत काम सकिएको छ । हाल दुवै खण्डमा वाल लगाउने, माटो भर्ने, सबबेस राख्ने, कल्भर्ट निर्माण लगायत काम धमाधम भइरहेको उनले बताए । आरसीसी वाल, प्लम वाल, नाला निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ ।

साँगा-धुलिखेल खण्डको २ किमी सडक ६ लेनमा कालोपत्र भइसकेको छ । सूर्यविनायक-साँगा खण्डमा भने कालोपत्रको तयारी भइरहेको उनले बताए ।त्यस्तै, साँगामा १११० मिटर लामो अण्डरपास निर्माणको दुईतिहाई बढी काम सम्पन्न भएको उनकाे भनाइ छ ।

दुवैखण्डमा अझै साइट क्लियरेन्स गर्न बाँकी रहेको उनले बताए । अझै १ दजर्न घर र १०० बढी विद्युत् पोल हटाउन बाँकी छ । दुवै खण्डको तोकिएको समयमा काम सम्पन्न नभएपछि म्याद थपिएको छ ।

सूर्यविनायक-साँगा खण्डको ठेक्का आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभीले ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा पाएको छ । यसको थपिएको म्याद २०८३ फागुनसम्म छ । त्यस्तै, साँगा-धुलिखेल खण्डको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा पाएको छ । यसको म्याद २०८३ मंसिर २३ गतेसम्म थपिएको छ ।

यो सडक निर्माण सम्पन्न भएसँगै अरनिको, वीपी राजमार्ग हुँदै पूर्वीनेपाल जाने यात्रुलाई सहज हुनेछ । साथै, यात्राअवधि समेत छोटिने छ ।


Back_to_top