कोरोना कालमा आएका नयाँ ५ एसयूभी, विक्रीमा सबै सफल

काठमाडौं । सन् २०२० सम्झन लायक धेरै विषयमा रहेन । वर्षको सुरुवातदेखि नै विश्वमा कोभिड १९ को महामारी चल्यो । यसबाट विश्वका कुनै पनि देश अछुतो रहन सकेनन् । विश्व अर्थतन्त्रको जगनै हल्लियो । विशेषत अटोमोवाइल क्षेत्रमा पनि यसको गहिरो असर पुग्यो ।

यसका बाबजुद अटोमोवाइल क्षेत्रमा केहि नयाँ उत्पादनहरु बाहिर आए । नेपालको अटोमोवाइल बजार धेरै हदसम्म भारतीय बजारमा निर्भर रहने हुँदा भारतमा उत्पादन हुने मोडल नेपालको लागि पनि विशेष रहने गर्छ । यस्तोमा सन् २०२० मा भारतमा एसयूभी सेग्मेन्टमा ५ नयाँ मोडल सार्वजनिक भयो । जसमा केहि नेपाल आइसकेका छन् भने, केहि आउने क्रममा रहेका छन् ।

सन् २०२० मा कियाले सब फोर मिटर एसयूभी सोनेट, महिन्द्राको नयाँ जेनेरेशन थार, निसान म्याग्नाइट, हुन्डाईको सर्वाधिक सफल एसयूभी क्रेटाको नयाँ जेनेरेशन र टोयोटा र मारुती सुजुकीको सहकार्यमा तयार भएको टोयोटा अर्वान क्रुजर एसयूभी सार्वजनिक भएका थिए ।

हुन्डाईको नयाँ जेनेरेशन क्रेटा र किया सोनेट नेपाल आइसकेका छन् भने, निसान म्याग्नाइट र महिन्द्रा थार नेपाल आउने क्रममा रहेका छन् । यी दुबै मोडल जनवरीमा नेपाल आउने जनाइएको छ । तर, टोयोटा अर्वान क्रुजर भने तत्काल नेपाल आउने छैन ।

सबै गाडीको विक्रीमा रेकर्ड

सन् २०२० मा विक्री सुरु भएका सबै गाडीको भारतमा रेकर्ड विक्री भएको तथ्यांकहरुले देखाएको छ । हुन्डाई क्रेटाको नयाँ जेनेरेशन मोडल विक्री सुरु भएपछि यो सेग्मेन्टमा नै अग्रस्थानमा रहँदै आएको छ ।

किया सोनेट पनि लगातार दुई महिनादेखि सब फोर मिटर सेग्मेन्टमा अग्रस्थानमा रहेको छ भने, एड्भेञ्चर एसयूभी सेग्मेन्टमा महिन्द्रा थारको रेकर्ड विक्री भइरहेको छ । भारतमा यसलाई किन्न चाहने ग्राहकले बुकिङपछि डेलिभरीको लागि ९ महिना कुर्नु पर्ने अवस्था रहेको छ ।

निसान म्याग्नाइट केहि दिनअघि मात्रै सार्वजनिक भएको सब फोर मिटर एसयूभी हो । यसको बुकिङ पनि उत्कृष्ट रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । निसानले ५ दिनमा ५ हजार म्याग्नाइट बुकिङ लिएको समाचरहरु बाहिर आएका छन् । टोयोटा अर्वान क्रुजर मासिक ३ हजार यूनिट हाराहारीमा विक्री भइरहेको छ ।

समग्रमा भारतमा उत्पादन भएका यी ५ वटा एसयूभीले कोरोना कालमा पनि राम्रो व्यापार गर्न सफल भएका छन् ।


Back_to_top