काठमाडौं । सुजुकीको बहुप्रतिक्षित मोटरसाइकल जिक्सर–२५० भोलि भारतीय बजारमा सार्वजनिक हुँदैछ ।
भारतीय बजारमा सार्वजनिक हुने मिति नजिकिएसँगै नेपाली बजारमा यसलाई खोज्ने र कहिले आउँछ भनेर चर्चा गर्नेहरु भेटिन थालेका छन् । यस्तोमा यसलाई नाडा अटोसम्ममा नेपाली बजारमा ल्याउने प्रयास भइरहेको बुझिएको छ ।
विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर–२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आउने नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।
यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड-२५० सीसी इन्जिनले २० बीएचपी पावरकासाथै २० एनएम-टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा सिक्स-स्पीड ट्रान्समिसन लगाइएको छ ।
सुजुकी जिक्सर २५० मा यूएसडी सेटअप र रियरमा मोनोशक सन्स्पेन्सन दिइएको छ । कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ ।
यामाहा एफजेड–२५ सँग प्रतिस्पर्धा गर्न ल्याउन लागिएको यो मोडलले राम्रो ब्यापार गर्ने कम्पनीले अपेक्षा राखेको बताएको छ ।
यदि यो तत्काल नेपाली बजारमा आउने हो भने यसको मूल्य ४ लाख ५० हजार रुपैयाँ हाराहारीमा पर्ने अनुमान लगाउन सकिन्छ । यसले बजारमा यामाहा एफजेड–२५, बजाज पल्सर एनएस–२०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

