सुजुकीले ल्याएको अफरोड मेसिनको डेलिभरी सुरु

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले आफ्नो अफरोड मेशिन जिम्नी एसयूभीको डेलिभरी सुरु गरेको छ । कम्पनीले आफ्नो नेपालभर रहेका सबै डिलर नेटवर्कबाट जिम्नीको डेलिभरी सुरु गरेको हो ।

जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक मोडल थियो । विगत ५० वर्षभन्दा बढी समयदेखि अफरोड एसयूभीको रुपमा आफ्नो अलग पहिचान बनाउँदै आएको जिम्नी पहिलो पटक ५ ढोका सहित नेपाल आएको हो ।

सुजुकी जिम्नी अल्टिमेट अफरोड एसयूभी हो, जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा उत्पादन भएको छ । यसको बडी एङ्गल, अप्रोच र ग्राउन्ड क्लियरेन्स राम्रो भएको कारण जस्तोसुकै खराव बाटोमा पनि यसलाई चलाउन सकिन्छ ।

यसमा रहेको फोर ह्वील ड्राइभ सिस्टम सुजुकीको अल ग्रिप प्रोसँग पाउन सकिन्छ । लिमिटेड स्लिप डिफरेंशियल ब्रेक र थ्री लिंक रिजिड एक्सल सस्पेन्सनको कारण यसलाई अफरोडको राजा मान्न सकिन्छ ।

सानो एसयूभीको ड्यासबोर्डमा दिइएको २२.६८ सेन्टिमिटरको ठूलो स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक फिचर यसमा पाउन सकिन्छ ।

अहिले विभिन्न दुई भेरियन्टमा उपलब्ध जिम्नीको डेलिभरी सुरु भएको हो । चाँडै कम्पनीले अटोमेटीक जिम्नी पनि नेपाली बजारमा ल्याउने छ ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘५ ढोका भएको सुजुकी जिम्नी भारतमा सफल भएसँगै नेपाल आएको हो । नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले हामीले नेपाल छिटो ल्याउन प्रयास गरेका थियौ । हामीले पहिलो लट डलिभरी पनि गरेका छौं ।’

जिम्नीकाे सुरूवाती मूल्य ५९ लाख ९९ हजार रूपैयाँ रहेकाे छ ।


Back_to_top