सुजुकीले ल्याउने भयो नयाँ एसयूभी, नेपालमा बुकिङ सुरु, यस्तो छ मूल्य

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी) जापानले उत्पादन गरेका सुजुकी कारहरु नेपाली बजारमा ल्याउने भएको छ ।

हाल नेपालमा मारुती सुजुकी इन्डियाले निर्माण गरेका सुजुकी कारहरु मात्र बिक्री हुँदै आएकोमा जापानमा उत्पादन भएका कार नेपाल आउने भएको हो । नेपाली ग्राहकले युरोप र उत्तर अमेरिका लगायतका अन्तर्राष्ट्रिय बजारका लागि बनाइएका सुजुकी कार नेपालमा किन्न पाउने भएका हुन् ।

सीजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेशनबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्नेछ भने अहिलेको लाइनअपलाई निरन्तरता दिनेछ ।
‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ । अब हामी सीधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौं,’ कम्पनी स्रोतले भन्यो ।

नयाँ च्यानलमार्फत नेपाली बजारमा भित्रिने पहिलो कार सुजुकी भिटारा हुनेछ । भिटारा युरोपेली बजारमा सबैभन्दा बढी विक्री हुने प्रिमियम एसयूभी मध्येमा पर्छ । यसमा फोर ह्वील ड्राइभ सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहने छन् ।
नयाँ सुजुकी भिटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार हुनेछ ।

सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल ल्याउने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकले भिटाराको प्रि-बुकिङ गर्न सक्ने छन् । यी गाडीहरु सीजी नेक्स्ट जेन सोरुमहरुबाट बिक्री गर्ने कम्पनीको तयारी छ ।


Back_to_top