निगमको विराटनगर पार्किङबाट हराएको ट्यांकर सुनसरीमा भेटियो

काठमाडौं । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरबाट हराएको ट्यांकर भेटिएको छ ।

सोमबार राति हराएको को १ ख ६१९० नम्बर रहेको ट्यांकर मंगलबार बिहान ११ बजेतिर सुनसरीको बर्जु गाउँपालिका-८ स्थित हुलाकी राजमार्ग क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उक्त ट्यांकर फेला पारेको हो । सोमबार ट्यांकर हराएको जानकारी पाएसँगै प्रहरीले खोजी सुरू गरेको थियो ।

उक्त ट्यांकर नवीन ढुवानी सेवाको रहेको हो । त्यसमा २० हजार लिटर पेट्रोलियम पद्धार्थ लोड गरिएको थियो । भारतको सिलीगुडीबाट इन्धन लिएर आएको उक्त ट्यांकर आइतबार बेलुका निगमको पार्किङमा प्रवेश गरेको थियो । लाइनमै रहेको ट्यांकर सोमबार राति हराएको खबर बाहिरिएको थियो ।

उक्त ट्यांकर मुचुल्का उठाइ विराटनगर डिपोमै पठाइने सुनसरी प्रहरीले जनाएको छ । हाल अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी छ ।


Back_to_top