काठमाडौं । टाट मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन ईभीको डार्क एडिशनको आधिकारीक बुकिङ खुल्ला गरेको छ । कम्पनीले डर्क एडिशनको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो ।
टाटा नेक्सन ईभी अहिले नेपालको सर्वाधिक चल्तीको मोडल हो । उच्च ग्राउन्ड क्लियरेन्स, आकर्षक डिजाइन र ठिकठाकको रेन्ज पाउन सकिने भएको कारण नेक्सन ईभी किन्नेहरु बढिरहेका छन् । अहिले पनि सिप्रदी ट्रेडिङसँग ४/५ महिनासम्म डेलिभरी दिन पुग्ने बुकिङ रहेको जनाइएको छ ।
सरकारले विद्युतीय गाडीको प्रयोग बढाउने नीति लिएको कारण बैंक तथा वित्तीय संस्थाले गाडीको मूल्यको २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जा सुविधा लिन पाउने व्यवस्था गरेको भएपनि धेरै रकम कर्जा लिँदा ब्याज धेरै तिर्नु पर्ने हुन्छ । त्यसैले कम्बस्चन गाडीको जस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर गाडी किन्दा मासिक ४० हजार किस्ता तिर्दा पुग्छ ।
यसरी टाटा नेक्सन डार्क एडिशन एक्सजेड प्लस लग्जरी भेरियन्ट किन्दा ग्राहकले २१ लाख ९९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नुपर्छ भने त्यति नै रकम ७ वर्षको लागि कर्जा सुविधा लिन सक्नेछन् । अहिले बजारमा ईभीको लागि १३ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउन सकिन्छ ।
मासिक किस्ताको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यस्तो छ डार्क एडिशन
टाटा नेक्सनको डार्क एडिसनमा पनि रेगुलर मोडलको जस्तै ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ९५ किलोवाट क्षमताको पीएसएमएस मोटर दिइएको छ । नेक्सन ईभीको डार्क एडिशनसँग पनि ३.३ किलोवाट क्षमताको अनवोर्ड चार्जर पाउन सकिन्छ ।
आधुनिक ट्राइएरो डिजाइन, एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, एलइडी टेलल्याम्प, ७ इन्चको टीएफटी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ७ इन्चकै फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, पियानो ब्ल्याक कलरमा सजिएको ड्यासबोर्ड, डार्क थिममा सजाइएको सिट, अटोमेटीक क्लाइमेट कन्ट्रोल जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

यसका अलावा नेक्सन ईभीको डार्क एडिशनमा रियर एसी भेन्ट, कुल्ड ग्लोब बक्स, रियर सेन्ट्रल आर्मरेष्ट, १६ इन्चको डायमण्ड कट अलोय ह्वील, २०५ एमएम ग्राउन्ड क्लियरेन्स र सनरुफ पाउन सकिन्छ ।
सुरक्षाको लागि कारमा एबीएसको साथ इबीडी, हिल एसेन्ट र हिल डिसेन्ट कन्ट्रोल, कर्नरिङ स्टेवलिटी कन्ट्रोल, डाइनामिक गाइड लाइनसहितको रिभर्स पार्किङ क्यामेरा, दुई एयरब्याग रहेका छन् ।
कम्पनीले डार्क एडिसनको एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी भेरियन्टको बुकिङ खुल्ला गरेको छ । एक्सजेड प्लसको मूल्य ४१ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


