काठमाडौं । टाटा एनआरजी क्रसओभर नेपालमा विक्री सुरु भएको छ । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले विक्री सुरु गरेको नयाँ क्रसओभर एनआरजी फेसलिफ्ट बीएस ६ इन्जिनमा उपलब्ध भएको छ ।
सिप्रदीले ३३ लाख ७५ हजार मूल्य निर्धारण गरेर विक्री सुरु गरेको एनआरजीमा नयाँ इन्जिनको साथ थुप्रै कस्मेटिक परिमार्जन ग्राहकले पाउने छन् । यसअघि पनि सिप्रदीले एनआरजीको बीएस फोर मोडल विक्री गर्दै आएको थियो । सन् २०२० अप्रिलबाट उत्पादन बन्द भएको यो मोडललाई पुनः उत्पादन सुरु गरेसँगै नेपाल आएको हो ।

कम्पनीले अहिले दिइरहेको दशैं स्कीममा यसलाई बुकिङ गर्ने ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले दिएको छुटपछि अहिलेको बजारमा चलिरहेको व्याजदर अनुसार यो गाडी किन्न चाहने ग्राहकले मासिक २५ हजार ५०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
भारतमा लागु भएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १.२ लिटर, थ्रि सिलिण्डर, रेभोर्टन इन्जिनमा आउने एनआरजीको अधिकतम ६००० आरपीएममा ८६ पीएस पावर र ३३०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्छ । यसलाई ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्समा नेपाल ल्याउने छ ।

टाटा एनआरजी निकै आक्रमक डिजाइनमा देखिएको छ । टियागोको क्रसओभर मोडलको रुपमा बजारमा आएको एनआरजीको साइजपनि निकै ठूलो रहेको छ । यसको लम्बाई ३८०२ एमएम, चौडाई १६७७ एमएम र उचाई १५३७ एमएम रहेको छ । यसमा २४०० एमएमको ह्वीलवेस, १८१ एमएमको ग्राउन्ड क्लियरेन्स र २४२ लिटर क्षमताको बुट स्पेश ग्राहकले पाउने छन् । यसमा ३५ लिटरको इन्धन ट्याङ्की दिइएको छ ।

यसमा अटो फोल्ड ओआरभीएम, फ्ल्याट बटम स्टेरिङ ह्वील, फलो मि-होम हेडल्याम्प, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, एड्जस्टेवल स्टेरिङ, पुस बटम स्टार्ट, हर्मनको इन्फोटेन्टमेन्ट सिस्टम र स्पीकर दिइएको छ ।



