गत वर्ष नेपाल आएर सर्वाधिक चर्चा कमाएका ३ नयाँ कार

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ हामी माझबाट बिदा भइसकेको छ । गत आर्थिक वर्षमा नेपाली अटोमोबाइल बजारमा थुप्रै नयाँ मोडल  आए ।

एक वर्षको अवधिमा नेपाल आएका कारमा सबैभन्दा धेरै चर्चा र बिक्री नामी-०१ ह्याचब्याक, टाटा पन्च ईभी र एमजी एस-फाइभले प्राप्त गरे । यी तीन वटै कारले नेपाली बजारमा एक वर्षको दौरानमा ग्राहकलाई तान्न सफल भए ।

उसोत गत वर्ष एक दर्जन मोडल बजारमा थपिएका थिए । ती सबैले ठूलो सफलता पाउन सकेनन् । तर, विद्युतीय कारको बढ्दो प्रयोगमा सबैले राम्रै संख्यामा व्यापार पाउन सफल भएका थिए ।

गत आर्थिक वर्षमा यी तीनवटै मोडलको आयात राम्रो संख्यामा गरेको देखिन्छ । सिप्रदी ट्रेडिङले एक वर्षभन्दा कम समयमा पन्च ईभी ८०६ युनिट आयात गरेको छ । गत वर्ष भदौमा भएको नाडा अटो शोबाट बजारमा आएको पन्च निकै सफल मोडल हो ।

डोङफेङ नामी-०१ पनि गत वर्षको अटो शोमै आएको थियो । तर, ठूलो संख्यामा बिक्रीको लागि भने कार्तिकबाट आयात सुरू भएको हो । एमएडब्लू ग्रुपले असार मसान्तसम्म १ हजार १८ युनिट नामी आयात गरेको छ ।

केही महिना अगाडि मात्रै नेपाल आएको एमजी एस-फाइभ सबैभन्दा चर्चा भइरहेको मोडल हो । पारामाउन्ट मोटर्सले नेपाल ल्याएदेखि नै यसको चर्चा भएको थियो । अझ ४३ लाख ९९ हजार रुपैयाँ सुरूवाती मूल्य नै तोकेर ल्याएसँगै यसको मूल्यको झनै बढी हल्ला भयो ।

एसयूभी सेग्मेन्टमा आएको एस-फाइभ विगत चार महिनामै १ हजार ५२ युनिट आयात गरेको छ । यसले गत आर्थिक वर्षमा नेपाल आएको गाडी मध्ये एमजी एस-फाइभलाई सबैभन्दा अगाडि बनाएको छ ।


Back_to_top