बाहिरियो टाटाको सातौं ईभीको टिजर, अर्को साता लन्च हुँदै

काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित नयाँ ईभी मोडल ‘सियरा ईभी’कोे टिजर सार्वजनिक गरेको छ ।

कम्पनीले सियरा ईभी लन्च गर्नु डेढ साताअघि सियर ईभीको नयाँ आधिकारिक टिजर सार्वजनिक गरेको हो । कम्पनीले सियरा ईभी आगामी जुन ३० मा औपचारिक रूपमा भारतमा सार्वजनिक गर्दैछ ।

सियरा टाटाको टाटाको ईभी पोर्टफोलियोमा समावेश हुने सातौँ इलेक्ट्रीक गाडी बन्नेछ । जसलाई प्रिमियम बजारमा ह्यारियर ईभी भन्दा ठीक मुनिको श्रेणीमा राखिनेछ ।

कम्पनीले सियरा ईभीको ब्याट्री, मोटर र चार्जिङको आधिकारिक विवरण पूर्ण रूपमा सार्वजनिक गरेको छैन । तर, यसमा ह्यारियर ईभीको जस्तै ६५ किलोवाट आवर र ७५ किलोवाट आवरका ठूला ब्याट्री प्याकहरू उपलब्ध हुने अनुमान गरिएको छ । यसले एकपटकको फुलचार्जमा ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज दिने दाबी गरिएको छ ।

सियरा ह्यारियर जस्तै रियर ह्वील ड्राइभ र डुअल मोटर अल ह्वील ड्राइभ दुवै विकल्पमा उपलब्ध हुन सक्नेछ । यसमा डीसी फास्ट चार्जिङका साथै अन्य उपकरणलाई पनि चार्ज गर्न मिल्ने ‘बाइ डाइरेक्सनल’ चार्जिङ प्रविधि उपलब्ध हुनेछ ।

सार्वजनिक टिजर अनुसार गाडी निकै आकर्षक डिजाइनको देखिन्छ । सियरा ईभीमा परम्परागत आइस गाडीको जस्तो खुला ग्रिलको सट्टा यसमा आधुनिक सील्ड ग्रिल र बडीकै रङको फ्रन्ट प्यानल दिइएको छ । गाडीको माथिल्लो भागमा आकर्षक फुल विड्थ एलईडी डीआरएल र बम्परको तल्लो दुवै तर्फ ठाडो आकारमा मुख्य हेडल्याम्पहरू राखिएका छन्।

गाडीको बडीकै रङको फ्रन्ट प्यानल र सफा बम्पर डिजाइनले सियरा ईभी मोडललाई पेट्रोल र डिजेल मोडलहरूभन्दा फरक देखाउँछ । सियराको पुराना मोडलहरूको पहिचान मानिने क्लासिक ‘क्ल्यामसेल बोनेट’ र अग्लो सिधा बनावट लाई यस उत्पादन मोडलमा पनि कायम राखिएको छ ।

यसको इन्टेरियर विवरण पनि सार्वजनिकक भएको छैन । तर, आइस सियरा जस्तै हुने अपेक्षा गरिएको छ । यसमा थ्री स्क्रीन ड्यासबोर्ड, जेबीएल अडियो, डल्बी एटमस सपोर्ट, डुअल जोन क्लाइमेट कन्ट्रोल, प्यानोरामिक सनरुफ, हेड अप डिस्प्ले, कनेक्टेड गाडीका सुविधाहरू, इलेक्ट्रिक पार्किङ ब्रेक र पावर्ड टेलगेट जस्ता फिचर समावेश हुन सक्छन्।

सुरक्षाका लागि यसमा लेभल २ एडास, अटोमेटिक हेडल्याम्प र रेन सेन्सिङ वाइपरहरू लगायतका सुविधाहरू थपिन सक्छन् ।

टाटा मोटर्सले हालै आफ्नो लोकप्रिय मोडल टियागो पञ्चको फेसलिफ्ट मोडल बजारमा ल्याएको छ । प्रिमियम सियरा ईभी बजारमा ल्याउने भएसँगै बजारमा नयाँ तरङ्ग पैदा गरेको छ। सियरा ईभीले हुन्डाई क्रेटा इलेक्ट्रीक, महिन्द्रा बीई ६, मारुती सुजुकी ई भिटारा, एमजी जेडएस ईभी र टोयोटा अर्बन क्रुजर इबेला जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

सियरा ईभी भारतमा बिक्री सुरू भएसँगै नेपाली बजारमा समेत आउने छ ।


Back_to_top