काठमाडौं । टाटाले आफ्नो ह्याचव्याक टियागोको ईभी भर्सन सार्वजनिक गरेदखि नै भारतसँगै नेपालमा पनि चर्चा चलिरहेको छ । विशेषत २२ देखि ३० लाख रुपैयाँ भित्रैको मूल्यमा ईभी किन्न खोज्ने ग्राहकले टियागो कुरेर बसेका छन् ।
टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी नेपाल ल्याउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएको छ । कम्पनीले आगामी जनवरीको अन्त्य वा फेब्रुअरीको सुरुवात मै टियागो ईभी नेपालमा विक्री सुरु गर्नेगरी काम अघि बढेको जनाएको छ ।
‘भारतमा जनवरीबाट यसको विक्री सुरु हुँदैछ । अहिले मूल्य तोकेर बुकिङ लिइरहेको कम्पनीले जनवरीबाट डिलीभरी दिने जनाएको छ । हामीले पनि नेपालमा जनवरीबाटै विक्री सुरु गर्नु पर्छ भनेका छौं । सायद अबको दुई हप्ता भित्र नेपालमा लञ्चिङको मिति टुङ्गो लाग्नेछ’, सिप्रदी स्रोतले मेरोअटोसँग भन्यो ।
टाटा मोटर्सले नेक्सन र टिगोरपछि तेस्रो इलेक्ट्रीक गाडीको रूपमा टियागो लन्च गरेको हो । भारतीय बजारमा टियागोको सुरूवाती मूल्य जम्मा ८ लाख ४९ हजारदेखि टप भेरियन्टको ११ लाख ७९ हजार भारतीय रुपैयाँ तोकेको छ । त्यसैले पनि टियागोलाई सस्तो ईभीको रुपमा धेरैले बुझ्ने गरेका छन् ।
भारतमा सुरुवाती २० हजार ग्राहकलाई यो मूल्यमा उपलब्ध गराउने जनाएको कम्पनीले सबै यूनिटको बुकिङ लिइसकेको छ । टाटा टियागो ईभी नेपाल आउँदा २१ लाखदेखि २८ लाख रुपैयाँसम्म मूल्य तोकेर विक्री सुरु हुने हामीले अनुमान गरेका छौं ।
दुई ब्याट्री अप्सन र रेन्ज
टाटाले टियागोलाई २ ब्याट्री अप्सनमा ल्याएको छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको फरक साइजको ब्याट्री रहनेछ । सम्भवत नेपाली बजारमा २४ किलोवाट आवरको ब्याट्रीमा टियागो सार्वजनिक हुनेछ । ठूलो ब्याट्री भएको टियागो एक्सजेड, एक्सजेड प्लस र एक्सजेड प्लस टेक लग्जरी गरी तीन भेरियन्टमा बजारमा आउने छ ।
टियागो ह्याचव्याकमा टाटाले डीसी फास्ट चार्जिङ पोर्ट समेत उपलब्ध गराएको छ । यसलाई डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्नका लागि ८ घण्टासम्म लाग्नेछ ।
कम्पनीका अनुसार टियागो ईभीले २४ किलोवाट आवरको ब्याट्री प्याक भर्सनले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर र १९.२ किलोवाटआवर ब्याट्री प्याक भर्सनले २५० किलोमिटरको रेन्ज दिनेछ । तर, यसको बास्तविक रेन्ज २०० किलोमिटर हाराहारी हुनेछ ।
मोटर/पावर
टाटा टियागोमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । टियागोले जम्मा ५.७ सेकेण्डमा ६० किलोमिटर प्रतिघण्टा गतिमा गुड्ने क्षमता राख्छ । टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोडमा उपलब्ध हुनेछ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड रहेको छ ।
अन्य फिचर
टियोगो ईभीमा ४५ थरी फिचर रहेको जी-कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रूज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

