काठमाडौं । भारतीय सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सले सेप्टेम्बर २८ तारिखमा टियागो ईभी सार्वजनिक गर्ने भएको छ । कम्पनीले विश्व ईभी दिवस सेप्टेम्बर ९ तारिखमा टियागो ईभी बजारमा ल्याउने घोषणा गरेको थियो ।
भारतमा विक्री सुरु भएको केही महिना भित्रै नेपाल आउने अपेक्षा गरिएको टियागो ईभीमा धेरै टेक्नीकल फिचरहरु टिगोर सेडान ईभीको समान हुने मिडिया रिपोर्टहरुमा दावी गरिएको भएपनि टाटाले यसको विषयमा कुनै जानकारी दिएको छैन ।
अहिले टाटाले विक्री गर्दै आएको सब फोर मिटर एसयूभी नेक्सन र सेडान टिगोरभन्दा केही कम मूल्यमा आउने टियागोमा रहने मोटर, ब्याट्री प्याक र पर्फमेन्सको विषयमा कुनै जानकारी बाहिर आएको छैन ।
अहिले विक्री वितरण भइरहेको पेट्रोलबाट चल्ने टियागोको जस्तै इन्टेरियर र फिचरहरु ईभीमा पनि रहने छ । यसमा विद्युतीय गाडीको लागि आवश्यक पर्ने फिचरहरु थप हुनेछ भने, पेट्रोलको लागि चाहिने फिचर हट्ने छ ।
नयाँ टियागो ह्याचव्याकमा नयाँ अलोय ह्वील, ईभी कलरको एसेन्टको व्यापक प्रयोग, नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिने छ ।

