जनवरीमा कम मूल्यको एसयूभी ल्याउँदै हुन्डाई

काठमाडौं । हुन्डाईले भारतीय बजारलाई ध्यानमा राखेर ल्याउन लागेको माइक्रो एसयूभी आगामी जनवरीमा सार्वजनिक हुने भएको छ । कम्पनी सेन्ट्रोको उत्पादन बन्द गरेर त्यही प्लेटफर्ममा नयाँ माइक्रो एसयूभी बजारमा ल्याउन लागेको हो ।

आगामी जनवरीमा आयोजना हुने दिल्ली अटो एक्स्पो २०२३ मा हुन्डाईले माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो । हुन्डाईले कोरियन बजारमा विक्री गर्दै आएको ‘क्यास्पर’बाट प्रेरित रहेर भारतमा माइक्रो एसयूभी बजारमा ल्याउने छ । यो हुन्डाईको सबैभन्दा कम मूल्यको एसयूभी हुनेछ ।

बजारमा कम मूल्यका एसयूभीमा ग्राहकको आकर्षण बढ्दै जाँदा हुन्डाईले पनि माइक्रो सेग्मेन्टमा नयाँ गाडी ल्याउन लागेको हो । कम्पनीले ल्याउने नयाँ गाडीको प्रतिस्पर्धा टाटा पन्चसँग हुने अनुमान गर्न सकिन्छ ।

सम्भवत हुन्डाईको नयाँ माइक्रो एसयूभीको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम रहने अनुमान गरिएको छ ।

क्याविनलाई प्रिमियम बनाउन ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ड्यूल टोन इन्टेरियर, मल्टिफंक्सनल स्टेयरिङ ह्विल, कनेक्टेड कार फिचर, ड्यूल एयरब्याग जस्ता फिचर यसमा रहने छन् ।

हुन्डाईले क्यास्परमा १.२ लिटर नेचुरल्ली एस्पिरेटेड र १.० टर्बो पेट्रोल इन्जिन दिएर ल्याउने अनुमान गरिएको छ । रेगुलर इन्जिनले ८२ पीएस र टर्बो इन्जिनले १०० पीएस पावर प्रदान गर्नेछ ।


Back_to_top