१० मिनेट टिगोर इभी चलाउँदा…

काठमाडौं । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सोमबार काठमाडौंमा टिगोर इभीको मिडिया ड्राइभ आयोजना गरेको थियो । उक्त टेष्ट ड्राइभ कार्यक्रममा मिडिया मेम्बरको रूपमा मैले पनि करिब १० मिनेट टिगोर इभी चलाउने मौका पाएँ ।

गाडीको टेष्ट ड्राइभ, त्यो पनि केबल १० मिनेट । यति छोटो समय गाडी चलाएर यसको अनुभव आदान प्रदान गर्न कठिन मानिन्छ र हुन्छ पनि । यद्यपि, टिगोर यसअघि पनि नेपाली बजारमा उपलब्ध रहेका कारण यसको बनोट, डिजाइन र सिटिङ पोजिसनको विषयमा धेरै कुरा थाहा पाउन परेन, म पहिल्यै जानकार थिएँ ।

टाटाको जीप ट्रोन प्रविधिमा आधारित दोस्रो गाडीको रूपमा बजारमा आएको कारण टिगोर इभीको चर्चा बढ्नु स्वभाविक हो । त्यसमा पनि चल्तीको ब्राण्डले ३० लाख रूपैयाँ आसपास मूल्य कायम गरेर विक्री सुरू गरेको इभी भएको कारण यसमा चासो हुनु स्वभाविक थियो । गाडी हेर्दा सबैभन्दा पहिला हेरिने कलर हो । टिगोरलाई टाटाले दुई कलर अप्सन ब्लू र ग्रेमा ल्याएको छ । कलर मानिस अनुसार फरक–फरक छनोट हुने गर्छ । मलाई यसको ब्लू कलरले तान्यो ।

टिगोर इभीको गियर नब उत्कृष्ट छ । विद्युतीय गाडी अहिलेसम्म सबै अटोमेटिक गियरबक्समा उपलब्ध हुने भएकाले चलाउन सहज हुने नै भयो । यसमा दिइएको डायल गियर नब ह्याण्डल गर्न निकै सहज रहेछ । स्पोर्ट मोड सेलेक्ट पनि त्यही नबबाट गर्न सकिने रहेछ ।

गाडी ह्याण्डलिङ निकै स्मुद छ भने आवज नआउने हुँदा टाटाको लिगेसी कता कता हराएको भान हुन्छ । लाग्छ पिसफुल वातावरणमा आफू गाडी चलाइरहेको छु । निकै आरामदायी सिट, उत्कृष्ट ड्राइभिङ पोजिसन र ड्यासबोर्डको ब्ल्याक कलरमा ब्लू हाइलाइटले आनन्दित बनाउँछ ।

गाडीमा ५५ किलोवाट क्षमताको मोटर रहेकाले धेरै पावर अपेक्षा गर्नेलाई केही निरास बनाउन सक्छ । तर, पनि इभीमा इन्स्ट्यान्ट टर्क हुने हुँदा कम महशुस हुँदैन । टिगोर इभीमा म चढ्दा इन्ष्ट्रुमेन्ट क्लष्टरमा ९० प्रतिशत चार्ज बाँकी छ भनेर देखाएको थियो भने अब २१० किलोमिटर गुडाउन सकिन्छ भन्ने सूचना प्रवाह थियो ।

त्यसपछि मैले टेष्ट ड्राइभमा खटिएका कम्पनीका प्रतिनिधिलाई सोधेँ कति प्रतिशत चार्ज गरेर ल्याउनु भएको थियो ? उनको उत्तर थियो १०० प्रतिशत । मैले बुझे अनुसार १० प्रतिशत त्यही टेष्ट ड्राइभ गर्नेले सकेका रहेछन् । यसको मतलब यसको रेन्ज २३० हाराहारी देखिने रहेछ । तर, सडकमा २०० किमीभन्दा माथिको अपेक्षा नगर्नु बेस हुन्छ ।

औषतमा २०० किलोमिटर यात्रा गर्न मिल्ने यो कार उपत्यकामा घर र अफिस गर्ने धेरै मानिसको आवश्यकता पूरा गर्न सक्ने किसिमको छ । करिब ३० देखि ३३ लाख रूपैयाँ बजेटमा किन्न पाइने टिगोर इभीमा २६ किलोवाट आवरको ब्याट्री, त्यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको छ । जुन इन्डस्ट्रीको औषत हो ।

कम्प्याक्ट डिजाइन, आकर्षक फिचर, चल्तीको ब्राण्ड, राम्रो चार्जिङ नेटवर्क, फोर स्टार सेफ्टी रेटिङ, आरामदायी सिट जस्ता फिचर सम्झदै मैले टिगोर १० मिनेट चलाए । यसको सम्पूर्ण फङ्क्शनले कसरी काम गर्छ भन्ने बुझ्न नपाई म ड्राइभिङ सिटबाट ओर्लिएँ ।

मैले टिगोर इभी चलाउन सुरू गर्नु अघि धेरै अपेक्षा गरेको थिइन । त्यसले म यो कम्प्याक्ट सेडान चलाएर बाहिर निस्कँदा सन्तुष्ट भए । आफ्नो अपेक्षाभन्दा बढीको कुनै पनि वस्तु भेटिँदा जो कोही सन्तुष्ट बन्छ । हो, मैले पनि टिगोरलाई १० मिनेट चलाउँदा सोचेभन्दा राम्रो पाएँ ।

 


Back_to_top