टाटाले नयाँ इलेक्ट्रीक ट्याक्सी विक्री गर्ने संकेत

काठमाडौं । बागमती प्रदेश सरकारले अब दर्ता हुने सबै किसिमका ट्याक्सी विद्युतीय हुने निर्णय गरेसँगै कुन कुन ब्राण्डले विद्युतीय ट्याक्सी बजारमा ल्याउलान् भन्ने विषय अहिले चर्चामा रहेको छ ।

विद्युतीय ट्याक्सी विक्रीमा निर्वाण चौधरीले संचालनमा ल्याउन लागेको सिजी मोटरदेखि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङसम्मले चासो देखाएका छन् । यस्तोमा टाटाले भारत निकै पहिलेदेखि विक्री गर्दै आएको मोडल नेपाल ल्याउने तयारी गरेको बुझिएको छ ।

बागमती प्रदेश सरकारले बनाएको विद्युतीय ट्याक्सीको नयाँ मापदण्ड अनुसार टाटाको एक्सप्रेस-टी सेडान कार ट्याक्सीको रुपमा आउने अनुमान गर्न सकिन्छ । साधारण विद्युतीय ट्याक्सीको लागि चाहिने अधिकांश मापदण्ड यसले पुरा गरेको छ । यसमा २१.५ किलोवाट क्षमताको ब्याट्री, फुल चार्जमा २१३ किलोमिटर रेन्ज र ३० किलोवाट क्षमताको मोटर रहेको छ ।

टाटाको यो इलेक्ट्रीक सेडान कारलाई १५ एम्पीयरको प्लगबाट र फास्ट चार्जर दुबैको प्रयोग गरेर चार्ज गर्न सकिन्छ । सून्य प्रदुषणमा आधारित यो सेडान कारमा सिंगल स्पीड अटोमेटीक गियरबक्स, दुई एयरव्याग, एबीएस, इबीडी, सिट बेल्ट रिमाइन्डर, अटोमेटीक क्लाइमेट कन्ट्रोल जस्ता फिचर रहेका छन् ।

यो कार तत्काल नेपाल ल्याउने वा नल्याउने विषयमा सिप्रदी ट्रेडिङले कुनै आधिकारीक जानकारी दिएको छैन ।

सानो मोटर प्रयोग भएको कारण यसमा अन्तःशुल्क र वार्षिक करसमेत लाग्दैन । त्यसैले सिप्रदी ट्रेडिङ चाँडै ट्याक्सी विक्री सुरु गर्ने अनुमान लगाउन सकिन्छ ।


Back_to_top