काठमाडौं । देशकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्गको प्राविधिक परीक्षण (फेसिलिटेट टेस्टिङ) सुरू गरिएको छ । २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमार्ग भित्र उपकरण जडान सम्पन्न भएसँगै प्राविधिक परीक्षण सुरू भएको हो ।
मुख्य सुरुङमार्ग भित्र भेन्टिलेसन, फायर फाइटिङ, टेलिफोन, सेफ्टी, सीसीटीभ, बिजुली बत्ती जडान सम्पन्न भएसँगै प्राविधिक परीक्षण सुरू भएको हो ।
मुख्य सुरुङभित्रको निर्माण र उपकरण कार्य सकिएसँगै प्राविधिक परीक्षण सुरू भएको परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए । यद्यपि, आधिकारिक परीक्षणका लागि जापानी प्राविधिकहरू आउने उनले बताए ।
‘मुख्य सुरुङभित्र निर्माण र उपकरण जडान कार्य सकिएको छ । जडान गरिएका उपकरणहरूको धमाधम परीक्षण भइरहेको छ,’ उनले मरोअटोसँग भने, ‘अब जापानी प्राविधिक आएर परीक्षण गर्नेछन् । परीक्षण सफल भएपछि सुरुङमार्ग सवारी गुडाउन योग्य हुनेछ ।

उनले प्राविधिक परीक्षण सकिएपछि सवारीसाधन गुडाएर समेत परीक्षण गरिने बताए । यो सुरुङमार्ग कुल २२ अर्ब लागतमा निर्माण भइरहेको हो ।
पुसदेखि संचालनमा ल्याउने तयारी
नागढुंगा सुरुङमार्ग कात्तिकभित्रै निर्माण सम्पन्न गरी पुसदेखि संचालनमा ल्याउने तयारी रहेको पन्थीले बताए । ‘तोकिएकै समय कात्तिक ८ भित्रै निर्माण सकिन्छ । त्यसपछि संचालन गर्न कम्पनी छनोट गरी पुसदेखि संचालनमा ल्याउने तयारी छ,’ उनले भने ।
उनका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको इन्जिनीयर पन्थीले जानकारी दिए । आयोजना अन्तर्गत ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, १ ओभर पास र ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ ।
बलम्बुमा १२८ मिटर लामो फ्लाइओभर ओभर निर्माण पनि अन्तिम चरणमा पुगेको छ । फ्लाइओभरमा सानातिना काम मात्र बाँकी रहेको उनले बताए । यो फलाइओभरले नागढुंगा सुरुङमार्गको पहुँचमार्गलाई कलंकी-नागढुंगा सडकसँग जोड्छ । कलंकीतर्फको मूल सडकबाट फ्लाइओभरसम्म जोड्न १०० मिटर र पहुँचमार्गतर्फ १३५ मिटरको र्याम्प बनाइएको छ । उनका अनुसार फ्लाइओभरमा काठमाडौंबाट सुरुङमार्गतर्फ जाने सवारी साधन गुड्ने छन् ।
त्यस्तै, ९ हजार ९५६.११ मिटर एप्रोच, र्याम्प र अन्य सडक निर्माण गर्नुपर्नेमा हालसम्म ७ हजार ९९६ मिटर सम्पन्न भइसकेको छ । अब १ हजार ९६० मिटर सडक निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २ हजार ५५७ मिटर लामो अपतकाली सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो ।यो सुरुङ जापानी कम्पनी हाज्मा/आन्दो जेभीले निर्माण गरिरहेको हो ।
संचालनका लागि टेन्डर आह्वान गरिँदै
निर्माण अन्तिम चरणमा पुगेसँगै आयोजनाले सुरुङमार्ग संचालनका लागि ग्लोबल टेन्डर आह्वान गर्ने तयारी छ । नेपालसँग सुरुङमार्ग संचालनको अनुभव नभएकाले अन्तर्राष्ट्रियस्तरको सर्भिस प्रोभाइडर कम्पनी ल्याइने छ ।
टेन्डर आह्वानका लागि खरिद निर्देशिका र बोलपत्रको मस्यौदा समेत बनिसकेको उनले जानकारी दिए । ‘सुरुङमार्ग संचालन कार्यविधि बनिसकेको छ । उक्त कार्यविधि सार्वजनिक खरिद कार्यालयमा पठाइएको छ । अब मन्त्रिपरिषद् पठाइने छ,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि टेन्डर आह्वान गरी कम्पनी छनोट गरिने छ ।’
कस्ता गाडी गुड्न पाउँछन् ?
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।
निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकलरस्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।
सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।
माथि उल्लेखित बाहेक अरू सबैखाले कार, जीप, भ्यान, माइक्रोबस, बस, ट्रक, टिपर, लरी लगायत सवारी साधन सुरुङमार्गमा चलाउन पाइन्छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।
भित्रिनेभन्दा बाहिरिने शुल्क सस्तो
नागढुंगा सुरुङमार्गबाट भित्रिनेभन्दा बाहिरिने शुल्क सस्तो तोकिएको छ । सडक बोर्ड नेपालले सवारी साधनलाई ४ भागमा विभाजन गरी टोल शुल्क प्रस्ताव गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ ।
सुरुङमार्ग हुँदै काठमाडौं आउने साना चारपाँग्रे सवारी साधन कार, भ्यान, पिकअप, माइक्रो बसले ७५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा यी सवारीसाधनले आउँदाकोभन्दा २५ रुपैयाँ कम अर्थात् ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यसैगरी, मिनी बस, मिनी ट्रक र टिपर सुरुङमार्ग हुँदै काठमाडौं आउँदा १२५ रुपैयाँ र बाहिरिँदा १०० रुपैयाँ शुलक तिर्नुपर्नेछ । त्यस्तै, बस र ट्रकले काठमाडौंतर्फ आउँदा २५० रुपैयाँ बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
प्रस्तावित शुल्क अनुसार सुरुङमार्ग प्रयोग गरेबापत हेभी सवारी साधन (लरी)ले भने सबैभन्दा धेरै रकम तिर्नुपर्नेछ । जसमा काठमाडौंतर्फ आउँदा ५०० रुपैयाँ र बाहिरिँदा ३०० रुपैयाँ तिर्नुपर्नेछ ।

