टेस्ला मोडल थ्रिको मूल्य ८० लाख !

काठमाडौं । सरकारले जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय कारमा लगाएको करका दरमा परिमार्जन गरेसँगै टेस्लाको गाडी ८० लाख रुपैयाँमा किन्न सकिने अवस्था आएको छ । तर, बजेटले नै आधिकारीक डिलर विना गाडी आयात गर्न नपाउने व्यवस्था गरेसँगै टेस्लाको आयात बन्द हुने अवस्थामा पुगेको हो ।

अरेटी इन्टरनेशनले पछिल्लो पटक आयात गरेको टेस्ला मोडल थ्रिको भन्सार प्रज्ञापन पत्रमा उल्लेख भएको मूल्य ४२ लाख ९९ हजार ९३८ रुपैयाँलाई आधार मानेर हिसाव गर्दा यो गाडी ८० लाख रुपैयाँमा विक्री गर्न सकिने देखिएको हो ।

‘बजेटले विद्युतीय गाडीको मूल्य घटाएको छ । यसले टेस्लाका गाडी पनि निकै राम्रो मूल्यमा पाउन सकिने अवस्था थियो । तर, आधिकारीक वितरक विना ल्याउन नपाउने निर्णयले तत्काल गाडी आउन सक्ने अवस्था रहेन’ अरेटी इन्टरनेशनलका संचालक विनोद श्रेष्ठले मेरोअटोसँग भने ।
अहिले अदालतमा आफ्नो कम्पनीको आधिकारीकताको विषय मुद्दाको रुपमा रहेको बताउँदै श्रेष्ठ भन्छन्, ‘हामीले आवस्यक कागज पत्र मगाएर सरोकारवाला निकायमा दिएका छौं, अब के हुन्छ अहिल्यै भन्न सक्ने अवस्था छैन ।’

टेस्ला आयातको बाटो तत्काललाई बन्द भएको छ । टेस्लाले विश्वका कुनै पनि देशमा डिलर नेटवर्क विस्तार गर्ने योजना समेत बनाएको छैन । यस्तोमा अरेटीले टेस्लाको आधिकारीक वितरक तत्काल पाउने सम्भावना पनि देखिदैन ।

यस्तो छ मूल्य निर्धारण प्रक्रिया

कम्पनीले ल्याएको टेस्ला मोडल थ्रिको प्रज्ञापन पत्रमा उल्लेख मूल्य ४२ लाख ९९ हजार ९३८ रुपैयाँमा ३० प्रतिशत भन्सार शुल्क लाग्छ । २०० देखि ३०० किलोवाट क्षमताको मोटर जडान भएको गाडीमा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको छ । यसरी हिसाव गर्दा यो गाडीमा १२ लाख ८९ हजार ९८१ रुपैयाँ भन्सार महशुल लाग्छ ।

यसअघि आयात भएका मोडल थ्रिमा रेटेड पावर १४७ किलोवाट उल्लेख गरेर आएकोले विवाद भएको थियो । यसमा २११ किलोवाट क्षमताको मोटर जडान भएको छ ।

आयात मूल्यमा भन्सार वपत लाग्ने दस्तुर जोड्दा गाडीको मूल्य ५५ लाख ८९ हजार ९१९ रुपैयाँ पर्न आउँछ । यहि रकममा १३ प्रतिशत मूल्य अविवृद्धि कर (भ्याट) लाग्ने छ । भ्याट वापतको रकम ७ लाख २६ हजार ६८९ रुपैयाँ हुन आउँछ ।

मूल्य अभिवृद्धि कर (भ्याट)पछिको गाडीको मूल्य ६३ लाख १६ हजार ६०८ रुपैयाँ पुग्छ । सरकारले यसमा सडक निर्माण दस्तुर ५ प्रतिशत लगाउने छ । सडक निर्माण दस्तुर बापत ३ लाख १५ हजार ८३० रुपैयाँ तिर्नु पर्छ ।

भन्सार, भ्याट र सडक निर्माण दस्तुर आयातकर्ताले भन्सार विन्दुमा नै तिर्नु पर्ने हुन्छ । यी सबै रकम जोड्दा गाडीको मूल्य ६६ लाख ३२ हजार ४३८ रुपैयाँ पर्न आउँछ । आयात कर्ताले यो गाडीमा २० प्रतिशत कुल नाफा राखेर विक्री गर्न पाउने कानुनी व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार २० प्रतिशत नाफा बराबरको १३ लाख २६ हजार ४८७ रुपैयाँ जोड्दा गाडीको मूल्य ७९ लाख ५८ हजार ९२५ रुपैयाँ हुन आउँछ । जुन मूल्यमा ग्राहकले गाडी किन्न पाउनु पर्ने हुन्छ ।


Back_to_top