अर्को महिना नेपाल आउँदै टेस्लाको नयाँ मोडल थ्री, यस्तो हुनेछ मूल्य

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाको फेसलिफ्ट भर्सन मोडल थ्री जनवरी महिनामा नेपाल आउने भएको छ । टेस्लाको आधिकारीक बिक्रेता अरेत इन्टरनेशनलले नयाँ मोडल थ्री अर्को महिना नेपाल ल्याउने भएको हो ।

टेस्लाको मोडल थ्रीमा ब्यापक परिमार्जन भएर आउने कम्पनी स्रोतले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएसँगै यसका फिचरको विषयहरु धेरै बाहिर आएका छन् ।

पहिलेको तुलनामा फरक आकारको हेडल्याम्प, स्मुथ एयर इन्टेक, नयाँ फ्रन्ट बम्पर, पुनः डिजाइन गरिएको रियर बम्पर, स्लिम होरिजेन्टल हेडल्याम्प रहने छ । अघिल्लो मोडलमा दिइएको फग लाइट नयाँ मोडलमा हटाइएको छ ।

त्यस्तै, फ्रन्ट बम्परको बीच भागमा एउटा र साइडमा एक–एक गरी कुल तीनवटा क्यामेरा थप गरिएको छ । कम्पनीले टेस्लाको अटो पाइलटलाई थप सुधार गरेर ल्याएको छ ।

नेपाल आउने टेस्ला मोडल थ्रीमा ५७.५ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्री चिनियाँ कम्पनी सीएटीएलले उत्पादन गरेको हो ।

यसमा कम्पनीले १७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ३४० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।

अरेत इन्टरनेशनलले नयाँ टेस्ला मोडल थ्रीको मूल्य १ करोड ३५ लाख रुपैयाँ कायम गरेर बिक्री गर्ने जनाएको छ । त्यसमा सुरुमा किन्ने ग्राहकलाई ५ लाख नगद छुट दिने कम्पनीका निर्देशक विनोद श्रेष्ठले जानकारी दिए ।


Back_to_top