चिनीयाँ प्लान्टबाट टेस्ला उत्पादन सुरु, आउला नेपाल ?

चीनमा बनेको टेस्ला कार हस्तान्त्रण कार्यक्रम ।

टेस्लाको सांघाइ गिगा फ्याक्ट्रिमा बनेको मोडल थ्रीको पहिलो डेलिभरी शुरु भएको छ । सोमबारबाट पहिलो ग्राहकको रुपमा टेस्लामै काम गर्ने कर्मचारीले पहिलो चाइना उत्पादन मोडल थ्री लिएका हुन् ।

टेस्ला फ्याक्ट्रिमा आयोजित कार्यक्रममा सोही फ्याक्ट्रिमा काम गर्ने १५ जना कर्मचारीलाई टेस्लाको मोडल थ्री हस्तान्तरण गरिएको हो ।

टेस्ला चाईनाको जनरल मेनेजर वाङ हाउका अनुसार कम्पनीले जनवरी महिनामा आफ्ना ग्राहकहरुलाई डेलिभरी दिन सुरु गर्ने छ । चाईनामा उत्पादित टेस्लाको मोडल ३ को सुरुवाती मूल्य ३ लाख ५५ हजार युवान (करिब ५० हजार डलर) रहेको छ । यो मूल्य सरकारले दिने अनुदान अघिको मूल्य हो ।

टेस्लाको सांघाइ गिगा फ्याक्ट्रि

ब्लुम्बर्गका अनुसार टेस्लाले स्थानीय उत्पादनसँग प्रतिस्पर्दा गर्नका लागि मोडल थ्रीको मूल्य तीन लाख युवानको हाराहारीमा ल्याउन चाहेको छ । चाइनाको सरकारले हालको समयमा २५ हजार युआन जति अनुदानका साथै इभी खरिदमा लाग्ने करमा पनि छुट दिदै आएको छ ।

चीनमा उत्पादन बढेसँगै विश्वकै सबैभन्दा ठूलो अटो बजारमा टेस्लाको बजार हिस्सासमेत बढ्ने अनुमान गरिएको छ ।

चीनमा नै उत्पादन सुरु भएकाले नेपालमा यसको आधिकारीक वितरक लिन केही व्यवसायीक घरानाले प्रयास गरिरहेको बुझिएको छ । अहिले नेपालमा आधिकारीक वितरक नभएकाले दुई यूनिट टेस्ला कार बिरगंज भन्सारमा थन्केर बसेका छन् ।


Back_to_top