दैनिक ६ लाखमा लाग्यो नागढुंगा सुरुङमार्ग संचालनको ठेक्का, कहिलेबाट गुड्छन् गाडी ?

काठमाडौं । नेपालकै पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्ग संचालनको ठेक्का चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट र एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी जेभी)ले पाएको छ ।

नागढुंगा सुरुङमार्ग आयोजनाले सोमबार एक सूचना जारी उक्त कम्पनीले ठेक्का पाएको जानकारी गराएको हो । ठेक्का पाउने युसिन-एआरटी जेभी नेपाल र चीनको ज्वाइन्ट भेन्चर कम्पनी हो । चोङक्विङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट चीनको सरकारी स्वामित्वको पूर्वाधार निर्माण कम्पनी हो । सन् १९९८ मा स्थापना भएको यो कम्पनीले सडक, पुल, यातायात प्रणाली र इन्जिनियरिङ क्षेत्रमा काम गर्दै आएको छ । एआरटी कन्ट्रक्सन नेपाली कम्पनी हो ।

आयोजनाका अनुसार युसिन-एआरटी जेभीले ५ वर्षका लागि कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८०० रुपैयाँ (भ्याट र पीएससहित)मा ठेक्का पाएको हो । सो आधारमा कम्पनीले दैनिक ६ लाख ४ हजार ९५२ रुपैयाँमा ठेक्का पाएको हो ।

यो सुरुङमार्ग संचालनका लागि ६ चिनियाँ, ३ भारतीय र एउटा टर्कीको गरी १० कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ७ कम्पनी प्राविधिक मूल्यांकनमा पास भएका थिए । जसमध्ये युसिन-एआरटी जेभी अनुमानित संचालन खर्चभन्दा ३७ प्रतिशत कम रकम प्रस्ताव गर्दै ठेक्का हात पारेको हो । आयोजनाले यो सुरुङ संचालनका लागि वार्षिक ३५ करोड लाग्ने अनुमान गरेको थियो । तर, युसिन-एआरटी जेभीले वार्षिक २२ करोड ८ लाख रुपैयाँमा ठेक्का पाएको हो । उक्त रकम सरकारले नै व्यहोर्ने छ । सुरुङमार्गमा उठेको टोल सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।

आयोजनाका इन्जिनियर सञ्जय पन्थीले छनोट भएको युसिन-एआरटी जेभी अब ५ वर्षसम्म सुरुङमार्ग संचालन सम्बन्धी सबै काम गर्नुपर्ने बताए । उनका अनुसार यो कम्पनीले ५ वर्षसम्म उनका अनुसार यो कम्पनीले सुरुङमार्ग २४ सै संचालन, नियमित मर्मतसम्भार, टोल उठाउने, ट्राफिक व्यवस्थापन, आपत्कालीन उद्धार, सुरुङमार्गको रेखदेख लगायत काम गर्नुपर्नेछ । साथै, आवश्यक जनशक्ति पनि उसैले व्यवस्थान गर्नुपर्नेछ ।

‘सुरुङमार्ग संचालनका लागि ग्लोबल टेन्डर आह्वान गरेका थियौं । १० कम्पनीले आवेदन दिएका थिए । तीमध्ये सबैभन्दा कम प्रस्ताव गर्ने ग्लोबल टेन्डरबाट युसिन-एआरटी जेभी छनोट भएको छ,’ उनले मेरोअटोसँग भने, ‘अब ५ वर्षसम्म यही कम्पनीले सुरुङ संचालन गर्नेछन् । केही दिनमै ठेक्का सम्झौता हुन्छ ।’

ठेक्का सम्झौता भएपछि कम्पनीले नै जनशक्ति व्यवस्थापन गर्नुपर्नेछ । त्यसपछि उनीहरूलाई तालिम दिएर दक्ष बनाएपछि मात्रै सुरुङमार्ग औपचारिक रूपमा संचालनमा आउने उनले बताए । कर्मचारीको सम्पूर्ण तलबभत्ता ठेकेदार कम्पनीले नै व्यहोर्ने छ ।

इन्जिनियर पन्थीका अनुसार यी सबै काम सम्पन्न हुन अझै करिब डेढ-दुई महिना लाग्नेछ । सुरुङमार्ग आगामी जेठदेखि संचालनमा ल्याउन सकिने उनले बताए । सुरुङमार्ग निर्माण सकिए पनि पश्चिम पोर्टलतर्फ टोल प्लाजा र पहिरो नियन्त्रणको काम भइरहेको उनले बताए । जनशक्ति तयार हुँदासम्म बाँकी काम पनि सकिने उनको भनाइ छ ।

‘अब केही दिनमै ठेक्का सम्झौता गर्छौं । त्यसपछि जनशक्ति व्यवस्थापन र तालिम दिन करिब डेढ महिना लाग्ला,’ उनले भने, ‘जेठदेखि औपचारिक रूपमा संचालनमा ल्याउन सकिन्छ होला ।’ औपचारिक संचालन गर्नुअघि परीक्षण गरिने उनले बताए ।

नागढुंगा सुरुङ जापान सरकारको ऋण अनुदानमा निर्माण भएको हो । मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीनको २.६ किलोमिटर रहेको छ । यसको लागत करिब २३ अर्ब रुपैयाँ रहेको छ ।

१५० जनशक्ति चाहिने

सुरुङमार्ग २४ सै घण्टा संचालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुन्छ । सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपत्कालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्नुपर्छ । यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको हो । यद्यपि, ठेक्का पाउने कम्पनीले आवश्यकता अनुसार राख्न सक्ने छ ।

सुरुङ संचालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहने छन् । सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । त्यसपछि टोल उठाउन ५४ जना कर्मचारी रहनेछन् । ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मतका लागि ८/८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

कति लाग्छ शुल्क ?

सरकारले सुरुङमार्गबाट गुड्ने सवारी साधनका लागि गत साउन २६ गते वर्ग अनुसार उपभोग दस्तुर (टोल) तोकेको थियो । सुरुङमार्ग हुँदै काठमाडौं आउँदा कार तथा भ्यानहरूले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ ।

त्यस्तै, मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसैगरी, हेभी सवारी साधनले काठमाडौं आउँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

हाल सडकबाट गुड्ने सवारीमध्ये ५०/६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने आकलन गरिएको इन्जिनियर पन्थीले बताए । यदि आधा सवारीले मात्र सुरुङ प्रयोग गरेमा संचालन खचए उठ्ने देखिएको उनको भनाइ छ ।

सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात संचालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।

निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।

सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।


Back_to_top