ह्याचब्याक सेग्मेन्टमा बढ्दै ईभी ‘वार’, कसको पक्षमा जाला बजार ?

काठमाडौं । विद्युतीय कारको बढ्दो प्रयोगसँगै निकै तीव्र वृद्धि पाइरहेको ह्याचब्याक कार सेग्मेन्टमा प्रतिस्पर्धा थप बढ्ने देखिएको छ । आउँदै गरेका दुई अटो शोलाई मध्यनजर गर्दै कम्पनीहरूले ह्याचब्याक कार ल्याउन लागेका हुन् ।

प्रिमियम ह्याचब्याकमा बीवाइडी डल्फिन, फ्यामली ह्याचब्याकमा टाटा टियागोले जमाएको ईभी बजारमा नामी बक्सको प्रवेशसँगै कम बजेटमा ठूलो ह्याचब्याक कार खोज्ने थपिँदै गए । नामी बक्सको सफलतापछि क्रमशः नयाँ ईभीको योजना बनेको देखिन्छ ।

आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ बाट ह्याचब्याक सेग्मेन्टमा थप ३ नयाँ मोडल प्रतिस्पर्धामा उत्रिदैछन् । जसमा प्रोटोन इमास फाइभ, आरफक्स टी वान र चेरी क्यूक्यू थ्री मुख्य मोडल हुन् । उसोत टाटा टियागो ईभीको नयाँ भर्सन पनि बजारमा आउने छ ।

ह्याचब्याक सेग्मेन्टमा सीमित विकल्प भएका कारण नामीले राम्रो फाइदा पाएको थियो । आगामी साउनदेखि नयाँ मोडलहरू थपिने भएसँगै उसले पनि थप चुनौती खेप्नु पर्ने भएको छ । बजारमा थपिने नयाँ मोडलले ग्राहकहरूलाई छनोटको विकल्प दिनेछ ।


खासगरी नामी बक्स, प्रोटोन इमास फाइभ, आरफक्स टी वान र क्यूक्यू थ्री मोडल बीच तीव्र प्रतिस्पर्धा हुने आधारहरू यस प्रकार छन् ।

मूल्यमा टक्कर

अहिले नामी बक्स ईभी किन्ने ग्राहकले ३६ लाख रुपैयाँ हाराहारी तिर्नु पर्छ । यस्तोमा बजारमा आउन लागेका ३ वटै नयाँ गाडी त्यही हाराहारीको मूल्यमा आउने छन् ।

त्यसले उपभोक्तालाई मोडल, डिजाइन, मूल्य, फिचर मात्र होइन ड्राइभिङ प्लेजर र आरामदायी गाडी छनोटमा पनि विकल्प मिल्नेछ । यसले बलियो उत्पादनको बिक्री थप राम्रो हुनेछ ।


फरक डिजाइन

ह्याचब्याक कारमा विकल्प बढेसँगै डिजाइनले पनि बिक्रीमा ठूलो फरक पार्छ । अहिले बजारमा रहेको नामी बक्स रेट्रो-मोडर्न डिजाइनमा तयार भएको मोडल हो ।

चेरीले नेपाल ल्याउन लागेको क्यूक्यू थ्री युवामुखी र आकर्षक स्टाइलमा देखिन्छ । यो ह्याचब्याकभन्दा पनि हल्का क्रसओभर फिल दिनेगरी तयार भएको छ ।

आरफक्स टी वानको डिजाइनमा ठूलो फरकपन नभए पनि टेक्नोलोजी र स्मार्ट फिचरमा केन्द्रित छ । त्यसले युवा होस् वा पाको उमेर समूहका सबै चालकले मनराउने खालको छ ।


प्रोटोन इमास फाइभ हेर्दा निकै क्यूट लाग्छ । परिपक्व र ग्लोबल डिजाइनमा आधारित मोडल हो । त्यसले चिनियाँ उपभोक्तालाई मन्त्रमुग्ध बनाइसकेको छ ।

प्रविधि र फिचर

सबै ह्याचब्याक कारहरू प्योर ईभी प्लेटफर्ममा बनेका हुन् । आधुनिक फिचरहरूको लामो लिस्ट उपलब्ध चारवटै ईभीको एडास भित्र भएका फिचरहरू, इन्फोटेनमेन्ट स्क्रीन, भीटुएल, कनेक्टेड कार टेक्नोलोजी जस्ता कुरा एड्भान्स भएका गाडीले बढी फाइदा पाउने छन् ।

त्यसैगरी, ३६० डिग्री क्यामेरा, स्क्रीनमा आउने भिडियो क्वालिटी र अन्य सुरक्षा फिचरले पनि कुन गाडी धेरै बिक्री हुन्छ भन्ने कुरा निर्धारण गर्ने देखिन्छ ।

निष्कर्ष
ह्याचब्याक ईभी बजारमा अब केवल ‘कम मूल्यको कार’ बिक्री गर्ने प्रतिस्पर्धा मात्र हुने छैन । डिजाइन, प्रविधि, रेन्ज, सुरक्षा र ब्राण्ड विश्वसनियता बढाउन जसले धेरै काम गर्छ उसैको उत्पादन बढी बिक्री हुन्छ ।

आउँदै गरेका नयाँ ह्याचब्याक कार मोडलले बजारमा स्थापित हुन गर्ने संघर्ष र अहिले बजारमा राम्रो बिक्री पाइरहेका मोडलले लिने रणनीतिले आगामी दिनको सेग्मेन्ट विजेता निर्धारण गर्ने देखिन्छ ।


Back_to_top