काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको हुलास अटो क्राफ्ट व्यवसाय विस्तारमा आक्रमक बनेको छ । कम्पनीले चालु आवको ९ महिनामा कारोबार ७८ प्रतिशतले विस्तार गरेको हो ।
साथै, कम्पनीले नयाँ एसेम्बली प्लाण्ट स्थापन गर्ने योजना अघि सारेको छ । हाल बजाजका मोटरसाइकल एसेम्बल गर्दै आएको कम्पनीले चाँडै चेतक इलेक्ट्रीक स्कुटर पनि नेपालमै एसेम्बल गर्ने भएको हो ।
कम्पनीले व्यवसाय विस्तारका लागि ३ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनीले ७६ करोड ६२ लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब १७ करोड २१ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि रेटिङ गराएको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ ।
कम्पनीलाई इक्राले अल्पकालीन कर्जाका लागि त्रिपल ए र दीर्घकालीन कर्जाका लागि एलबीबीबी माइनस रेटिङ दिएको छ । कम्पनीले लिने दीर्घकालीन कर्जा नयाँ एसेम्बलिङ प्लाण्ट, प्रविधि वा भौतिक पूर्वाधार विस्तारमा खर्च गर्नेछ । त्यस्तै, अल्पकाली ऋण सीकेडी आयात, कच्चा पदार्थ र तयारी सामानको मौज्दात राख्नका लागि खर्च गर्नेछ ।
कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ९ अर्ब ५२ करोड ४० लाख रुपैयाँ, गत आवमा ९ अर्ब १२ करोड ८० लाख रुपैयाँ, सन् २०२४ मा ५ अर्ब १३ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ५ अर्ब ६१ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो ।
कम्पनीको चालु आवको ९ महिनामा आम्दानी वार्षिक ३९ प्रतिशतले बढेर ९ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले गत आवमा ९ अर्ब १२ करोड आम्दानी गरेको थियो । चालु आवको ९ महिनामै गत वर्षभरीकोभन्दा ४० करोड बढी आम्दानी गरिसकेको छ भने अझै ३ महिनाको कारोबार तथ्यांक आउन बाँकी छ । कम्पनीले एसेम्बल गरेका मोटरसाइकलको बिक्री बढेसँगै आम्दानीमा बढेको हो ।
चालु आवमा कम्पनीको संचालन नाफामा पनि सुधार आएको छ । गत आवमा संचालन नाफा मार्जिन ६.८ प्रतिशत रहेकोमा चालु आवमा बढेर ६.९ प्रतिशत पुगेको छ ।
चालु आवमा कम्पनीमा ऋण सेवा क्षमता सम्बन्धी सूचकमा सुधार आएको छ । कम्पनीको ऋण सेवा कभरेज अनुपात चालु आवको ९ महिनाको अवधिमा ३.३ गुणा पुगेको छ । गत आवमा २.८ गुणा थियो ।
हुलास अटो क्राफ्ट सन् २०१३ मा स्थापना भएको कम्पनी हो । यसले नवलपरासीको रामग्राम क्षेत्रमा एसेम्बल प्लाण्ट स्थापना गरी दुईपाँग्रे र तीनपाँग्रे सवारी साधन एसेम्बल गर्दै आएको छ । यस कम्पनीमा शेखर गोल्छाको ८० प्रतिशत र आकाश गोल्छाको २० प्रतिशत सेयर स्वामित्व छ ।


