इलेक्ट्रीक स्पोर्ट बाइक ल्याउँदै यामाहा

काठमाडौं । जापानी मोटरसाइकल निर्माता यामाहाले इलेक्ट्रीक स्पोर्ट बाइक ल्याउने भएको छ । यामाहाले सडकमा चलाउन मिल्ने (रोड लिगल) इलेक्ट्रीक स्पोर्ट बाइक बजारमा ल्याउने भएको हो ।

गत वर्ष आयोजित टोकियो मोबिलीटी शोमा कम्पनीले ट्रयाक केन्द्रित प्रोटो बीईभी इलेक्ट्रीक स्पोर्ट बाइक कन्सेप्ट सार्वजनिक गरेको थियो। हालै सार्वजनिक भएका नयाँ पेटेन्ट फाइलहरूले यही प्लेटफर्ममा आधारित नयाँ रोड लिगल इलेक्ट्रीक मोटरसाइकल बनिरहेको संकेत देखाएको हो । कम्पनीले पेटेन्ट फाइल दर्ता गरेर नयाँ इलेक्ट्रीक स्पोर्ट बाइकमा काम समेत सुरू गरिसकेको जनाएको छ ।

पेटेन्ट डिजाइन अनुसार नयाँ इलेक्ट्रीक स्पोर्ट बाइकको आकार र अनुपात हालको यामाहा वाइजेडएफ-आर७ सँग मिल्दोजुल्दो देखिन्छ। मोटरसाइकलमा बिम स्टाइल फ्रेम, ठूलो ब्याट्री प्याक, बेल्ट ड्राइभ प्रणाली प्रयोग गरिएको देखिन्छ । जसले मोटरबाट पछाडिको पाँग्रामा पावर प्रदान गर्छ ।

मोटरसाइकलमा टाइपटु चार्जिङ पोर्ट प्रयोग गरिएको छ । जुन होण्डा डब्लूएन ७ कन्सेप्टमा देखिएको पोर्टसँग मिल्दोजुल्दो छ । सामान्यतया यस्तो पोर्ट ठूलो ब्याट्री क्षमता र उच्च चार्जिङ क्षमतासँग सम्बन्धित हुने भएकाले यसले मोटरसाइकलमा पर्याप्त आकारको ब्याट्री प्रयोग हुन सक्ने संकेत दिन्छ ।

पेटेन्टको मुख्य ध्यान ब्रेकिङ प्रणालीमा केन्द्रित रहेको बताइएको छ । यामाहाले एबीएस हाइड्रोलिक युनिट लाई स्टेयरिङ हेडको पछाडि राखेको छ, जुन परम्परागत रूपमा सिट मुनि राखिने गरिन्छ । कम्पनीका अनुसार यसले मास्टर सिलिण्डर र एबीएस युनिट बीचको हाइड्रोलिक लाइन छोटो बनाउँछ र प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्छ ।

त्यसैगरी, धेरै इलेक्ट्रिक मोटरसाइकलहरूमा जस्तै यस मोटरसाइकलमा पनि परम्परागत क्लच लिभरको स्थानमा हातले संचालन हुने पछाडिको ब्रेक लिभर प्रयोग गरिएको देखिन्छ । जबकि फुट पेडल आधारित पछाडिको ब्रेक देखिँदैन।

यामाहाले हालसम्म मोटरको शक्ति, ब्याट्री क्षमता, रेन्ज, फिचर र सम्भावित लन्च मिति बारे कुनै आधिकारिक जानकारी दिएको छैन । कम्पनीका अनुसार प्रोटो बीईभी कन्सेप्ट ठूलो ब्याट्रीयुक्त इलेक्ट्रिक स्पोर्ट बाइकको राइडिङ अनुभव अध्ययन गर्न बनाइएको थियो । जसले पेट्रोल इन्जिनयुक्त सुपरस्पोर्ट बाइकको ह्याण्डलिङ र इलेक्ट्रिक मोटरको तुरुन्त प्रतिक्रिया दुवै प्रदान गर्न सक्ने लक्ष्य राख्छ।

हालका पेटेन्टहरूले उत्पादन संस्करणको सम्भावना बलियो बनाएको भए पनि यो मोटरसाइकल बजारमा कहिले आउँछ भन्ने विषयमा यामाहाले कुनै पुष्टि गरेको छैन।


Back_to_top