कोशी प्रदेशले बढायो मोटरसाइकलको कर, अब कति तिर्नुपर्छ ?

काठमाडौं । कोशी प्रदेश सरकारले मोटरसाइकलमा लाग्ने वार्षिक सवारी साधन कर बढाएको छ ।

प्रदेश सरकारले आर्थिक विधेयक २०८३ मार्फत १५० सीसीभन्दा माथिदेखि २५० सीसीसम्मका मोटरसाइकलको सवारी कर बढाएको हो ।

विधेयक अनुसार १५० सीसी माथिदेखि २५० सीसीका मोटरसाइकललाई दुई वर्गमा विभाजन गर्दै १ हजार ८०० रुपैयाँसम्म कर बढाएको हो । हाल १५० सीसी माथिदेखि २५० सीसीसम्मका सबै मोटरसाइकललाई समान ६ हजार २०० रुपैयाँ कर लाग्छ ।

आगामी साउनदेखि १५० सीसी माथिदेखि २०० सीसीका मोटरसाइकलले ६ हजार ५०० रुपैयाँ र २०० सीसी माथिदेखि २५० सीसीसम्मका मोटरसाइकलले ८ हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । २०० सीसी माथिका मोटरसाइकलले हालकोभन्दा अब १८०० रुपैयाँ धेरै कर तिर्नुपर्छ ।

प्रदेश सरकारले यी बाहेक अन्य सीसीका मोटरसाइकलको करका दर भने यथावत राखेको छ । विधेयक अनुसार १२५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले ३१०० रुपैयाँ, १२५ सीसीभन्दा माथि १५० सीसीसम्म ५१०० रुपैयाँ, २५० सीसीभन्दा माथि ४०० सीसीसम्म ११ हजार र ४०० सीसीभन्दा माथि सबैले २० हजार रुपैयाँ कर तिर्नुपर्छ ।


Back_to_top