‘बीवाइडी एटो टु पड्किएको हल्ला भ्रामक’

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक शनिबार बाराको सिमरामा भएको बीवाइडी एटो टु दुर्घटनामा विस्फोट भएको भन्ने हल्ला भ्रामक रहेको बताएको छ ।

कम्पनीले हाल सामाजिक संजालमा गाडी पड्किएको भन्दै भाइरल गराइएको भिडियोको दाबीमा कुनै सत्यता नरहेको बताएको हो ।

शनिबार बारामा ‘अन-टेस्ट’ बीवाइडी एटो टु पैदल यात्री बचाउने क्रममा सडकको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा गाडीको अगाडिको भाग कुच्चिए पनि मानवीय क्षति भएको थिएन । तर, सामाजिक संजालमा बीवाइडी एटो टु ‘पड्कियो’, ‘आगलागी’ भयो भन्दै भिडियो भाइरल बनाइएको छ ।

प्रहरी प्रतिवेदन र आधिकारिक अनुसन्धानबाट पनि उक्त घटना एक सडक दुर्घटना मात्रै भएको पुष्टि भएको साइमेक्सले जनाएको छ ।

‘प्रहरी प्रतिवेदन र आधिकारिक अनुसन्धानपछि यो एक सडक दुर्घटना भएको पुष्टि भएको छ । यो कुनै सवारी साधन विस्फोट वा ब्याट्री फेल भएको घटना होइन । चालक सकुशल हुनुहुन्छ र उहाँलाई सामान्य चोटपटक मात्र लागेको पुष्टि गर्न पाउँदा हामीलाई राहत मिलेको छ,’ साइमेक्सले भनेको छ ।

कम्पनीका अनुसार प्राविधिक टोलीद्वारा थप निरीक्षण र मूल्याङ्कनका लागि उक्त सवारी साधनलाई वीरगन्जस्थित बीवाईडी सर्भिस सेन्टरमा लगिएको छ ।

कम्पनीले सबैलाई आधिकारिक र आधिकारिक स्रोतहरूबाट आएका प्रमाणित जानकारीहरूमा मात्र विश्वास गर्न अनुरोध समेत गरेको छ । साथै, कम्पनीले ग्राहक र सवारीको सुरक्षा सधैं सबैभन्दा उच्च प्राथमिकता रहेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराले पनि उक्त दुर्घटनामा एटो टु पड्किएको वा आगलागी नभई रेलिङमा ठोकिएको बताएको छ । सामाजिक संजालमा पड्किएको भन्दै प्रचार गरिएको कुरामा कुनै सत्यता नरहेको प्रहरीको भनाइ छ ।


Back_to_top