औषत मूल्य र पावर भएका तीन मोटरसाइकल

काठमाडौं । तराइका क्षेत्रमा यात्रा गर्नेलाई १२५ सीसी क्षमताका मोटरसाइकल पनि ठिक हुन्छन् । तर, नेपालमा तराईभन्दा पहाडी क्षेत्र भएको कारण सबैलाई १२५ सीसीको मोटरसाइकलमा पावर नै पुग्दैन ।

त्यसैले नेपालमा १५० सीसी सेग्मेन्ट निकै सफल मानिन्छ । तराईका जिल्लामा १२५ सीसीकै वर्चश्व छ । पहाडी एरियामा १५० सीसीको साधन धेरै बिक्री हुन्छ ।

सन् २००१ बाटै नेपालमा १५० सीसीका मोटरसाइकल उपलब्ध हुन थालेका हुन् । बजाज पल्सर, हिरो-होन्डा एक्स्ट्रीम, होन्डा यूनिकर्न, हिरो हंक जस्ता मोडल १५० सीसी सेग्मेन्टमा सफल मोडल हुन् ।

केहि समय अगाडिसम्म ग्राहकहरुले १५० सीसी क्षमताका मोटरसाइकल किन्दा मूल्य र माइलेज हेरेर खरिद गर्ने गरेका थिय । तर, अहिले समय परिवर्तन भएको छ । अहिले यो सेग्मेन्टका मोटरसाइकल ‘भ्यालु फर मनी’को हिसाबले किन्ने धेरै छन् ।

अहिले बजारमा १५० सीसीमा चल्तीका ब्राण्ड बजाज, यामाहा र बेनेलीको मोटरसाइकल राम्रै संख्यामा बिक्री भइरहेको छ । तर, पहिलाको जस्तो धेरै छनोट भने बजारमा बाँकी छैन ।

बजाज पल्सर १५०, यामाहा एफजेड भीटू र बेनेलीको टीएनटी १५० आई मोडल मूल्य र पावरको संयोजन भएको चल्तीका मोडल हुन् । यी तीनवटै मोटरसाइकल स्टाइलिस, कम मूल्य, उत्कृष्ट माइलेज र युवाको रोजाइमा पर्न सफल मोडल हुन् । त्यसमा पनि बजाज र यामाहाको मोटरसाइकल निकै सफल मानिन्छ ।

लुक्स

यी तीनै मोडलका क्लासीक डिजाइनमा तयार भएका हुन् । नेकेड डिजाइन उपलब्ध तीनवटै मोटरसाइकल हेर्नमा पनि निकै आकर्षक लाग्छन् ।

इन्जिन

समान १५० सीसी क्षमताका इन्जिन तीनवटै मोडलमा छन् । बजाज पल्सर १५० टीडी अलि बढि पावरफुल छ । यसमा रहेको इन्जिनले अधिकतम १४ ब्रेकहर्स पावर र १३.४ एनएम टर्क जेनेरेट गर्छ । पल्सर १५० मा सिंगल सिलिन्डर, फोर स्ट्रोक, टूभल्ब, एसओएचसी, एयरकूल्ड, डिटीएसआई इन्जिन छ ।

त्यस्तै, अर्को यामाहा एफजेड भीटूमा पनि १५० सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, टूभल्ब, फ्युल इन्जेक्सन, एयरकूल्ड, एसओएचसी एफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम १३.१ ब्रेकहर्स पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी, बेनेली टीएनटी १५० आइमा सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, इएफआई, एयरकूल्ड युरो फोर इन्जिन रहेको छ । उक्त इन्जिनले १३.३ ब्रेकहर्स पावर तथा १२ एनएम टर्क जेनेरट गर्छ । यी तीनै मोडलमा ५ स्पीडको गियरबक्स छ ।

ब्रेक, टायर र सस्पेन्सन

यी तीनै मोडल मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क दिइएको छ । पल्सरको रियरमा ट्वीन नाइट्रोक्स सक एब्जर्बर, एफजेड भीटूमा मोनोक्रस र टीएनटीमा टेलिस्कोपीक स्प्रिङ आयल सस्पेन्सन छ ।
यी मोडलहरु डुवल डिस्क प्याड, अलोय ह्वीलसँगै ट्युबलेस टायरमा उपलब्ध छन् ।

फिचर

यामाहा एफजेड भीटूमा डिजिटल आडोमिटर र स्पीडोमिटर, फ्युलगेज, हेलोजन हेडलाइट, इलेक्ट्रीक स्टार्ट, वेट मल्टिपल क्लच जस्ता फिचर छन् ।

बजाज पल्सर १५० टीडीमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, सार्प फ्युल एक्स्टेन्सन, डिसी हेडल्याम्प, एलइडी टेलल्याम्प, इन्जिन काउल, ब्याकलीट स्वीच, स्प्लीट सीट, ग्राबरेल, इलेक्ट्रीकसंगै किक स्टार्ट जस्ता फिचर पाउन सकिन्छ ।

त्यस्तै बेनेली टीएनटी १५० आइमा एलइडी हेडलाइट र ब्रेकलाइट, फ्युलगेज, डिजिटल आडोमिटर, डिजिटल स्पीडोमिटर, इलेक्ट्रीक स्टार्टसँगै किक स्टार्ट जस्ता फिचर पाउन सकिन्छ ।

माइलेज

टीएनटी १५० आइले ३० देखि ३५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । त्यस्तै एफजेड भीटूले ४५ किलोमिटर प्रतिलिटर र पल्सर १५० टीडीले ४० देखि ४५ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

मूल्य

फिचर, माइलेज, डिजाइन र पर्फमेन्समा समान जस्तै रहेका यी मोटरसाइकलको मूल्यमा भने अलि फरक छ ।

बजाजले १५० टीडी पल्सर ३ लाख १६ हजार ९०० रुपैयाँ मूल्यमा बिक्री गरिरहेको छ भने, यसको दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको छ ।
त्यस्तै यामाहा भीटूको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ र बेनेली टीएनटी १५० आइको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top