हुन्डाई र कियाले आफ्ना कारमा ‘सोलिड स्टेट ब्याट्री’ प्रयोग गर्ने

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई र कियाले आफ्ना कारमा सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने मिति घोषणा गरेका छन् । हुन्डाई मोटर ग्रुपको स्वामित्वमा रहेका यी दुबै ब्राण्डले सन् २०३० बाट उत्पादन हुने कारमा सोलिड स्टेट ब्याट्री रहने जानकारी दिएका हुन् ।

विश्वभर विद्युतीय कारको माग र उत्पादन बढेसँगै नयाँ टेक्नलोजीको अनुसन्धान र विकास भइरहेको छ । विशेषगरी विद्युतीय साधनको मुख्य कम्पोनेन्ट मानिने ब्याट्रीको विकासमा धेरै कम्पनीहरु जुटेका छन् ।

जापनीज अटोमोवाइल जायन्ट टोयोटाले सन् २०२८ बाट आफ्नो ईभीमा सोलिड स्टेट ब्याट्रीको प्रयोग थाल्ने र उक्त ब्याट्रीले सुरुमा एक हजार किलोमिटरभन्दा बढी रेन्ज दिने बताएको छ । यस्तोमा कोरियन अटोमोवाइल जायन्ट हुन्डाई मोटर ग्रुपले सोलिड स्टेट ब्याट्रीको प्रयोग थाल्ने मिति सन् २०३० घोषणा गरेको हो ।

हुन्डाई मोटर गु्रपका आरएण्डडी, प्लानीङ तथा को–अर्डिनेशन डिभिजनका हेड सुङ नाक सोपले कोरियाको डेगु इन्टरनेशनल फ्यूचर अटो एण्ड मोविलीटी एक्स्पोमा आफ्नो धारणा राख्ने क्रममा उक्त घोषणा गरेका थिए ।

सोलिड स्टेट ब्याट्रीमा ठोस प्रकृतिको इलेक्ट्रोलाइट्सको प्रयोग हुन्छ । त्यसकै कारण यसलाई प्याकेजिङ गर्न सहज हुन्छ । साथै, यसमा ‘अल्ट्रा हाइ इनर्जी डेन्सीटी’ पाउन सकिन्छ । जसका कारण लिथियम आयोन कै साइजबाट धेरै रेन्ज पाउन सकिन्छ । परम्परागत लिथियम ब्याट्रीमा भने तरल इलेक्ट्रोलाइट्स हुन्छन् ।

हुन्डाई मोटरले सन् २०३० सम्ममा ११ थप ईभी मोडल लन्च गर्ने जनाएको छ । यी मोडलहरुमा विशेषत एसयूभीको वर्चस्व हुनेछ । त्यस्तै किया मोटर्सले सन् २०२७ सम्ममै थप २ वटा ईभी मोडल र कम्पनीकै स्वामित्वमा रहेको प्रिमियम ब्राण्ड जेनेसीसले पनि सन् २०३० सम्ममा ६ वटा ईभी मोडल ल्याउने जनाएको छ ।


Back_to_top