काठमाडौं । अमेरिकी युवा बैज्ञानिक इलन मस्कले आफ्नो इलेक्ट्रीक कार ब्राण्ड टेस्लालाई यति परिचित बनाएका छन् कि त्यसको यथार्थ बुझ्न टेस्ला चढेर गाँउ पुग्दा थाहा हुन्छ । उपत्यकाको काँठ क्षेत्रमा हामीले टेस्ला मोडल वाईको टेष्ट ड्राइभ गर्दा यो कुरा चाल पाएका हौं ।
उउउ… टेस्लाको कार । धेरै बालबालिकाको मुखबाट निस्कने यो शब्द बाहेक एउटा ब्राण्डलाई के चाहियो । उसको भविष्यको ग्राहक आजैबाट उसँग परिचित छ । विश्व प्रसिद्ध ब्राण्ड र सबैभन्दा ठूलो मार्केट क्याप भएको अटोमोवाइल ब्राण्ड बन्नुअघि टेस्लाले के गरेर यत्रो नाम बनाएछ भन्ने बुझ्ने कोशिस सायद सबैले पहिलो पटक टेस्ला चलाउँदा गर्छन् नै होला । मैले पनि त्यहि गर्ने कोशिष गरेँ ।
काठमाडौंको नक्साल हुँदै बुढानिलकण्ड, टोखा, बालाजु हुँदै फेरी नक्सालसम्मको यात्रा टेस्ला ‘मोडल वाई’ चलाएर गर्दा एउटा कुरा चाहिँ भन्न सकिन्छ, ‘यो आधुनिक मेसिनले चालकलाई कुनै टचर दिदैन ।’
मिडियामा समाचार लेख्ने हामीले टेस्लाका सीईओको कति समाचार लेखियो । जहाँ अरुले सोचेर पुर्याउँछ, त्यहिबाट इलन मस्कले सोच्न थाल्छन् भन्ने हल्लालाई उनको गाडीले पनि पुष्टि गर्छ । अन्य कम्पनीले मनोरन्जनलाई मुख्य केन्द्रमा राखेर प्रयोग गर्ने इन्फोटेन्टमेन्ट डिस्प्लेलाई टेस्लाले पुरै कन्ट्रोल सिस्टम दिएर अत्याधुनिक बनाएको छ । त्यो पनि सन् २०१० देखि नै ।

टेस्ला मोडल वाई संसारमा धेरै बिक्री हुने मध्यको एक इलेक्ट्रीक कार मोडल हो । विशेषगरी अमेरिका, यूरोप र चीनमा यसको ठूलो बजार छ । नेपालमा मूल्यकै कारण यसको धेरै बिक्री छैन । बिक्री जतिभए पनि मोडल वाईको ब्यूल्ट क्वालिटी निकै उत्कृष्ट छ ।
यसको क्लिन ड्यासबोर्ड, आरादायी सिट, निकै ठूलो बुट स्पेश, अगाडि बोनेटमा पनि सामान राख्ने स्थानले पैसा भएका मानिसलाई लोभ्याउँछ । यसबाहेक छोटो टेस्ट ड्राइभमा के छुट्टाउन सकिन्थ्यो र ।
सुरक्षामा अब्बल फिचर, उच्च पावर र धेरै रेन्ज यसको मुख्य विशेषता हो । नेपाली बजारमा दुई भेरियन्टमा मोडल वाई उपलब्ध छ । रियर ह्वील ड्राइभ सिंगल मोटर जडान भएको भर्सनको पावर २०९ किलोवाट छ भने दुई मोटर रहेको अलह्वील ड्राइभ भर्सनको पावर २९१ किलोवाट छ ।
दुबै भेरियन्टमा समान ६० किलोवाट आवरको ब्याट्री दिइएको छ । कम्पनीले सिंगल मोटर भएको भर्सन १ करोड ९० लाख र डबल मोटर भर्सनलाई २ करोड २५ लाख मूल्य राखेर बिक्री गर्दै आएको छ ।
टेस्लाका गाडी अरेटी इन्टरनेशनलले नेपाल ल्याएर बिक्री वितरण गर्दै आएको छ ।


