‘ट्रेन्डी स्कुटर’ खोज्नेलाई यी हुन् ३ उत्कृष्ट मोडल

काठमाडौं । पछिल्लो समय १२५ सीसी सेग्मेन्टका स्कुटर किन्ने ट्रेन्ड नै चलेको छ । बजारमा उपलब्ध १२५ सीसी सेग्मेन्टका स्कुटरप्रति ग्राहकको आकर्षण बढ्दा समग्र दुई पाङ्ग्रेको बिक्रीमा स्कुटरको हिस्सा ५० प्रतिशत माथि पुगेको हो ।

अहिले बजारमा १२५ सीसी सेग्मेन्टमा होन्डा डिओ, यामाहा रेजेडआर र टीभीएस एनटर्क सबैभन्दा बढी चर्चा बटुल्दै आएका मोडल हुन् । विशेषगरी होन्डा र टीभीएसका स्कुटरले बजारमा राम्रो चर्चा र सफलता पाउँदै आएका छन् ।

चल्तीका तीन ब्राण्डले बिक्री गर्दै आएका तीन स्कुटरको बरेका हामीले यहाँ चर्चा गरेका छौं । यी स्कुटरमा रहेका फिचर र मूल्यलाई हामीले केलाउने प्रयास गरेका छौं ।

होण्डा डिओ

होण्डा डिओ दुई पाङ्ग्रे बजारलाई नै परिवर्तन गर्ने मोडल हो भन्दा फरक पर्दैन । नेपाल आएको सुरुवाती दिनदेखि नै डिओले सफलता पाएको हो । होण्डा डिओ स्कुटर सदाबहार ग्राहको रोजाइमा पर्न सफल मोडल हो ।

डिओ आफ्नो डिजाइनसँगै त्यसको पर्फमेन्सको कारण पनि सफलता पाएको मोडल हो । यसअघि ११० सीसी इन्जिनमा उपलब्ध भएपनि विगत एक वर्षदेखि १२५ सीसी सेग्मेन्टमा पनि डिओ उपलब्ध भएको हो ।

नयाँ डिओ स्कुटरमा १२३.९२ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फ्यान कूल्ड इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८.२८ पीएस पावर तथा १०.४० एनएम टर्क जेनेरेट गर्छ ।

यसमा टेलिस्कोपिक फर्क र स्प्रीङ लोडेड हाइड्रोलीक सस्पेन्सन सेटअप, ट्युवलेस टायर, अलोय ह्वील र कम्बी ब्रेकिङ सिस्टम पाउन सकिन्छ । सबै लाइट एलइडी रहेको डिओ १२५ स्कुटरमा जेट इन्स्पायर टेललाइट, डिजिटल मिटर, डबल टिप मफलर, मल्टि फङ्गसन स्वीच, इन्जिन स्टार्ट/स्टप स्वीच दिइएको छ ।

स्याकार ट्रेडिङले विभिन्न चार भेरियन्टमा उपलब्ध डिओको सुरुवाती मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ ।

यामाहा रेजेडआर

यामाहा रेजेडआर माइलेज र ग्राफिक्स लुक्सका कारण धेरैको रोजाइमा पर्न सफल मोडल हो । यहाँ चर्चा गरिएको तीन स्कुटरमा माइलेजका हिसाबले रेजेडआर अब्बल स्कुटर हो ।

यामाहाले यसमा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, टू भल्ब, एयर कूल्ड एफआइ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८.२ पीएस पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा टेलिस्कोपिक फर्क र स्वींग आर्म सस्पेन्सन सेटअप, अलोय ह्वील, ट्युवलेस टायर, युनिफिल्ड ब्रेकिङ सिस्टम दिइएको छ । बल्की डिजाइनमा तयार गरिएको यस स्कुटरमा हेलोजन हेड्ल्याम्प र टेल ल्याम्प, एलइडी डिआरएल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

रेजेडआरमा भेरियन्ट अनुसार कनेक्ट सिस्टम, मल्टि फंगसन कि स्वीच, इलेक्ट्रीक र किक स्टाट, स्मार्ट मोटर जेनेरेटर, स्टार्ट/स्टप सिस्टम, युएसबी चार्जिङ पोर्ट जस्ता अन्य फिचर दिएको छ ।

एमएडब्लू राइडलेसात भेरियन्ट उपलब्ध गराएको रेजेडआरको सुरुवाती मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस एनटर्क

टीभीएसका लागि एनटर्क १२५ गेम चेन्जर मोडलको रुपमा आएको थियो । सुरुदेखि नै धेरैको मन जित्न सफल एनटर्क स्कुटर पावरका हिसाबले जहिलै पहिलो स्थानमा रहन सफल भएको मोडल पनि हो । जस्तो सुकै बाटोमा चलाउन सकिने पावरफुल स्कुटर खोज्ने ग्राहकले टीभीएस एनटर्कनै रोज्ने गर्छन् ।

Price of ntorq 125

यसमा १२४.८ सीसीको सिंगल सिलिन्डर, तीन भल्ब, फोर स्ट्रोक, एयर कूल्ड, आरटीएफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम १०.५ पीएस पावरका साथै १०.८ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले यसमा टेलिस्कोपिक फोर्क र क्वेल स्प्रीङ सस्पेन्सन सेटअप, ट्युवलेस टायर, अलोय ह्वील र सिक्रोनाइज्ड ब्रेकिङ सिस्टम दिएको छ ।

स्टेल्थ एयरक्राफ्ट स्टाइलमा रहेको स्कुटरमा भेरियन्ट अनुसार एलइडी लाइट र हेलोजन लाइट दिइएको छ । यसमा सिग्नेचर टी-सेप एलइडी टेलल्याम्प, गेमिङ्ग कन्सोल इन्स्पायर इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट सिस्टम, हाजार्ड लाइट स्वीच, इलेक्ट्रीक र किक स्टार्ट, युएसबी चार्जिङ पोर्ट पाउन सकिन्छ ।

जगदम्बा मोटर्सले एनटर्क स्कुटरको ५ भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ । यस स्कुटरको सुरुवाती मूल्य २ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top