त्रिभुवन विमानस्थलमा फेरियो नियम, अब भिजिट भिसामा जानेलाई नरोक्ने

काठमाडौं । अब भिजिट भिसामा विदेश जाने कुनै पनि नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागनमा नरोकिने भएको छ ।

एजेन्टहरूले भिजिट भिसामा जानेलाई सेटिङमा पैसा लिएर विदेश पठाउने गरेको पाइएपछि अध्यागमन विभागले अब कुनै नागरिकलाई नरोक्ने निर्णय गरेको हो ।

विभागले आइतबार एक सूचना प्रकाशित गरी भिजिट भिसामा विदेश जानेलाई अब अध्यागमनमा नरोक्ने निर्णय भएको जानकारी दिएको हो ।

अनुमान, शंका र भौतिक हैसियतको तजबिजी मूल्यांकनको आधारमा आफ्नै नागरिकहरूलाई विभेदपूर्ण व्यवहार गर्नुहुँदैन भन्ने कुरामा प्रष्ट रहेको विभागले जनाएको छ ।

‘सोही अनुरुप अध्यागमन प्रशासनले अब उप्रान्त पर्यटकीय प्रकृतिका भिसामा जाने कुनै पनि नेपाली नागरिकलाई कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने विषय र तथ्यगत रूपमा थप छानबिन गर्नुपर्ने सूचना वा जानकारीबिना निजको हैसियत जाँच गरी प्रस्थानमा रोक नलगाउने निर्णय गरेको छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।

विभागले कानुनले तोकेका वैध राहदानी र भिसा, दुईतर्फी हवाई टिकट, होटेल बुकिङ वा आफन्तसँग बस्ने भएमा सोको प्रमाण, तोकिए बमोजिमको डलर सटही र आवश्यकता अनुसार स्वःघोषणा लगायतका वैध कागजात लिएर सुरक्षित यात्रा गर्न सबैमा अनुरोध गरेको छ ।

‘अध्यागमन प्रक्रियामा सुरक्षा, अपराध अनुसन्धान र मानव बेचविखन लगायतका विषयमा विस्तृत अनुसन्धान हुने भएकाले विभिन्न उद्देश्यले वैदेशिक यात्रामा प्रस्थान अनुमति लिन अध्यागमन अधिकृतसमक्ष प्रस्तुत हुँदा कुनै नक्कली वा फर्जी कागजात प्रयोग नगर्नुहुन सम्बन्धित सबै नागरिक तथा यात्रुहरूलाई हार्दिक अनुरोध गरिन्छ,’  विभागले भनेको छ ।

केही महिनाअघि भिजिट भिसाको नाममा अध्यागमनका कर्मचारीले दैनिक ५० लाख रुपैयाँसम्म असुली गरिरहेको कुरा बाहिरिएको थियो । सोही प्रकरणका विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई माथि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । त्यस्तै, प्रतिपक्षी दल रास्वपा र राप्रपाले गृहमन्त्री रमेश लेखको राजीनामा माग्दै आएका छन् ।


Back_to_top