काठमाडौं । अहिले विश्वभर चिनियाँ कार बजार चर्चामा रहँदै आएको छ । त्यसको कारण न्यू इनर्जी भेहिकलको बढ्दो बिक्री र चिनियाँ निर्माताले पाइरहेको उत्पादन वृद्धि मुख्य कारण हुन् ।
सन् २०२४ मा झण्डै २ करोड २९ लाख युनिट कार बिक्री भएको चीनमा केही वर्ष अगाडिसम्म फक्सवागेन, टोयोटा जस्ता ब्राण्डको वर्चश्व थियो । तर, अहिले समय फेरिएको छ । भर्खरै सकिएको २०२४ मा पनि अघिल्लो वर्षको जस्तै बीवाइडी चीनको सबैभन्दा ठूलो कार बिक्रेता बनेको हो ।
बीवाइडीले सन् २०२४ मा १६.२ प्रतिशत बजार हिस्सा ओगट्दै पहिलो भएको हो । कम्पनीले एक वर्षको अवधिमा ३७ लाख १८ हजार २८१ युनिट कार बिक्री गरेको छ । अघिल्लो वर्षको तुलनामा ३७.४ प्रतिशतले बिक्री बढाउन सफल भएको हो ।
दोस्रो धेरै गाडी बिक्री गर्ने चिनियाँ कम्पनी जिली हो । जिलीले एक वर्षको अवधिमा १७ लाख ७३ हजार २५१ युनिट कार बिक्री गर्दै ७.७ प्रतिशत बजार हिस्सा सुरक्षीत गरेको छ । जिलीले यस अवधिमा २८ प्रतिशतले आफ्नो बिक्री बढाएको हो ।
चीनमा ७ प्रतिशत बजार हिस्सा सहित एफएडब्लू फक्सवागेन तेस्रो स्थानमा छ । फक्सवागेनले १२.९ प्रतिशतले बजार गुमाएको हो । कम्पनीले कुल १६ लाख ८ हजार ५७८ युनिट बिक्री गरेको छ ।
चौथो स्थानमा चांगन परेको छ । चिनियाँ ब्राण्ड चांगनले ०.६ प्रतिशतले बजार गुमाएको छ । उसले यस अवधिमा १३ लाख ६५ हजार ७४५ युनिट कार बिक्री गर्दै ६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।
टप पाँच भित्र पहिलो पटक स्थान बनाएको चेरीले १३ लाख ५५ हजार २०५ युनिट कार बिक्री गर्दै ५.८ प्रतिशत बजार हिस्सा ओगटेको छ । चिनियाँ ब्राण्ड चेरी सबैभन्दा धेरै कार निर्यात गर्ने कम्पनी हो । उसले आफ्नो उत्पादनको ४९ प्रतिशतभन्दा बढी हिस्सा निर्यात गरेको छ ।
एसएआइसी फक्सवागेनको बजार हिस्सा ५.२ प्रतिशत छ । उसले सन् २०२४ मा १२ लाख युनिट कार बिक्री गर्न सफल भयो । उसले अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले बजार गुमाएको हो ।
तीन कम्पनी एसएआइसी, जीएम र विलिङको संयुक्त लगानी रहेको विलिङ ब्राण्डले ८ लाख २४ हजार ६८१ युनिट कार बिक्री गर्दै सातौ स्थानमा आफुलाई सुरक्षीत गरेको छ । उसको बजार हिस्सा ३.६ प्रतिशत रहेको छ ।
टोयोटा एफएडब्लूले ७ लाख ९८ हजार ८७ युनिट र टोयोटा जीएसीले ७ लाख ७० हजार १४७ युनिट बिक्री गर्दै आठ र नवौं स्थानमा परेको छ । यी दुबैको बजार हिस्सा क्रमशः ३.५ र ३.४ प्रतिशत छ ।
अमेरिकी ब्राण्ड टेस्ला पनि धेरै कार बिक्री गर्ने १० कम्पनीको सूचीमा समावेस भएको छ । टेस्लाले ६ लाख ५७ हजार १०२ युनिट कार बिक्री गरेको हो । कम्पनीको बजार हिस्सा २.९ प्रतिशत रहेको छ । टेस्लाले ८.९ प्रतिशतले बजार बढाउन सफल भएको हो ।

