एजेन्सी । भारतीय अटोमोवाइल बजारमा मारुती सुजुकीको एकछत्र राज अझै कायम छ । बजेट कार निर्माणमा महारथ हासिल गरेको मारुती सुजुकी ब्राण्डले उत्पादन गरेका ११ मोडल सर्वाधिक विक्री हुने २५ मोडल भित्र पर्छन् ।
जुलाई २०२२ को विक्री तथ्यांक अनुसार मारुती सुजुकीले उत्पादन गर्ने वागेनआर, बलेनो, स्वीफ्ट, डिजायर, इको, एसप्रेसो, ब्रेजा, आर्टिगा, अल्टो, सेलेरियो र इग्नीस मोडल टप २५ भित्र परेको छ ।
त्यसैगरी हुन्डाईले उत्पादन गर्ने ४ मोडल टप २५ भित्र परेका छन् । हुन्डाईको क्रेटा, भेन्यू, ग्राण्ड आई १० नियोस र आई २० टप २५ भित्र परेका मोडल हुन् । त्यसैगरी यो सूचीमा टाटाको तीन मोडल अटाएका छन् । जसमा नेक्सन, पन्च र अल्ट्रोज छन् ।
सर्वाधिक विक्री हुने २५ मोडलमा कियाको पनि तीन मोडल अटाएका छन् । कियाले भारतमा उत्पादन गर्ने सबै तीन वटै मोडल टप २५ मा परेका हुन् । जसमा सेल्टोस, सोनेट र कारेन्स छन् ।
धेरै विक्री हुने २५ भित्रको सूचीमा टोयोटा र महिन्द्राका समान २/२ मोडल छन् । टोयोटाको इनोभा क्रिष्टा र अर्वान क्रुजर छन् भने महिन्द्राको बलेरो नियो र एक्सयूभी ७०० रहेका छन् ।
भारतीय, कोरियन र जापानी ब्राण्डले उत्पादन गरेका गाडीको दबदवा रहेको सूचीमा होन्डा, निसान, रेनो, स्कोडा, फक्सवागेन जस्ता ब्राण्डले उत्पादन गरेका एउटा पनि मोडल अटाउन सकेका छैनन् ।

