काठमाडौं । विक्रम संम्बत २०७७ हामीबाट विदा भएको छ । कोभिड १९ को कारण भएको लकडाउनमा नै सुरु भएको २०७७ मा नेपाली अटो बजारमा निकै उथलपुथल भयो ।
लकडाउन सकिएपछिको सुरुवाती दिनमा चारपाङ्ग्रे सवारी साधनको विक्री उत्साहपूर्ण नरहेपनि विस्तारै बजारले गति लियो । विशेषत एसयूभी सेग्मेन्टका नयाँ गाडीमा ग्राहकले निकै धेरै चासो देखाए ।
२०७७ मा नेपाल आएका अधिकांश मोडलले बजारमा राम्रो छाप छाड्न सफल भए । जसमध्ये केहि मोडलको विक्री उच्च रह्यो भने केहि मोडलको चर्चा धेरै भयो ।
१. नयाँ जेनेरेशन क्रेटा
विक्री र चर्चामा २०७७ पनि क्रेटाको नाममा गयो भन्दा फरक पर्दैन । क्रेटा सेग्मेन्टै सर्वाधिक विक्री मोडलको साथै यो वर्ष सबैभन्दा धेरै आयात भएको सिंगल मोडलमा पर्न सफल भयो ।

हुन्डाई क्रेटाको नयाँ जेनेरेशन साउन अन्तिममा नै नेपाल आएको थियो । नयाँ जेनेरेशन मोडल आएसँगै यसको माग अनुसारको आपूर्ति गर्न कम्पनीलाई हम्मे हम्मे परेको थियो । जुन अहिलेसम्म पनि कायम नै रहेको छ ।
२. एमजी इजेडएस
चर्चाको शिखरमा गत वर्ष अर्को एसयूभी नै रह्यो । एमजीले उत्पादन गरेको इलेक्ट्रीक एसयूभी इजेडएस २०७७ मा सर्वाधिक सोशल मिडियामा चर्चा गरिएको मोडल हो । सरकारले विद्युतीय कारमा करका दर वृद्धि गर्नुभन्दा दुई हप्ता अगाडि एकै पटक १२० यूनिट इजेडएस आएपछि यो मोडलले मिडियामा समाचार र शोसल मिडियाका चर्चा बटुलेको थियो ।

३.टेस्ला मोडल थ्रि
टेस्ला मोडल थ्रि अर्को गत वर्ष निकै चर्चामा रहेको थियो । विशेषत अन्डर विलिङ, मोटर क्षमतामा देखाएको झुट, अदालतमा मुद्दा र एजेन्सी विना नै आयात जस्ता कारण टेस्ला चर्चामा रहेको थियो ।

टेस्ला आफैँमा विद्युतीय कार प्रेमीको पहिलो रोजाई पर्ने ब्राण्डका बाबजुद आयातकर्ता कम्पनीको बदमासीको कारण यसले चर्चा पाएको थियो ।
४. निसान म्याग्नाइट
कम मूल्यको सब फोर मिटर एसयूभीको कारण निसान म्याग्नाइट गत वर्ष चर्चामा रहन सफल भयो । प्रतिस्पर्धी मोडलको तुलनामा ६ लाख कम मूल्यमा आएको म्याग्नाइट कम मूल्यमा एसयूभी खोज्नेको रोजाईमा परेकै कारण यसको विक्री पनि निकै राम्रो भइरहेको छ ।

निसानले भारतीय बजारमा आफ्नो प्रभाव विस्तार गर्न नसकिरहेको समयमा आएको म्याग्नाइटले उसलाई केहिहदसम्म हौसला प्रदान गरेको छ । यसैको निरन्तरता अनुरुप नेपालमा पनि यसले चर्चा र विक्री दुबै पाउन सकेको छ ।
५. बिएमडब्ल्यू
बिएमडब्ल्यू ब्राण्ड पनि गतवर्ष नेपाल प्रबेश गरेको हो । विश्व प्रसिद्ध विलासी कार निर्माता कम्पनी बिएमडब्ल्यू नेपालमा आधिकारीक शोरुम र सर्भिस सेन्टर स्थापना गरेर गाडी विक्री गर्ने पहिलो कम्पनी भएको छ । मर्सिडिजले नेपालमा गाडी विक्री गरिरहेको भएपनि यसरी सेल्स, सर्भिस र स्पेयर पाट्र्सको शोरुम निर्माण गरेको थिएन ।

बिएमडब्ल्यू आई ७ सिरिज र एक्स सिरिजका गाडी नेपाली बजारमा गत वर्ष धेरै चर्चामा रहन सफल भयो ।
६.मारुती सुजुकी ब्रेजा पेट्रोल
सुरुमा डिजेल इन्जिनमा मात्रै उपलब्ध रहेको मारुती सुजुकी ब्रेजाको पेट्रोल इन्जिन गतवर्ष असारमा नेपाल आएको थियो । नेपाल आएसँगै यसको विक्रीमा उछाल आएको थियो । कम्पनीले ब्रेजा ग्राहकको माग अनुसार दिनसमेत सकेन ।

यसअघि १.३ लिटर डिजेल इन्जिनमा उपलब्ध ब्रेजामा अहिले १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । जसको कारण सहरी क्षेत्रमा यसको माग उच्च रहन सफल भयो ।
७. किया सोनेट
कियाले भारतमा उत्पादन गरेको दोस्रो मोडल सोनेट पनि गतवर्ष चर्चा बटुल्न सफल मोडल हो । बजारमा रहेका ब्रेजा, भेन्यू, नेक्सन, इकोस्पोर्ट र एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न आएको सोनेट आफ्नो डिजाइनको कारण चर्चामा रहेको मोडल हो ।

८. कोरोला क्रस
टोयोटाको चर्चित सेडान कार कोरोलाको प्ल्याटफर्ममा तयार भएको कोरोला क्रस निकै चर्चामा रह्यो । सन् १९७० देखि ९० को दशकमा नेपाली सडकमा सर्वाधिक गुड्ने कोरोलाको नयाँ अवतारलाई ग्राहकले पनि राम्रै प्रतिक्रिया दिएको पाइन्छ ।

९. टाटा अल्ट्रोज
टाटाले प्रिमियम ह्याचव्याक सेग्मेन्टमा बजारमा उतारेको अल्ट्रोज पनि चर्चामा रहन सफल मोडल हो । विशेषत मारुती सुजुकी बलेनो र हुन्डाई आई २० सँग सिधा प्रतिस्पर्धामा आएको यो मोडलले राम्रै चर्चा बटुलेको थियो । सेगमेन्ट फर्ष्ट फिचर, सर्वाधिक सुरक्षित प्रिमियम ह्याचव्याक र उत्कृष्ट डिजाइनको कारण अल्ट्रोज चर्चामा रहन सफल भएको हो ।

१०. ग्राण्ड आई १० नियोस
हुन्डाई ग्राण्ड आई १० नियोस पनि निकै चर्चामा रहेको मोडल हो । कम्पनीले यसअघिको रेगुलर ग्राण्ड आई १० को स्थानमा ल्याएको नियोस पहिले भन्दा ठूलो साइज र डिजाइन कै कारण चर्चा बटुल्न सफल भयो ।


