गाडीमा प्रयोग भएको इञ्जिनको क्षमतालाई त्यसले उत्पादन गर्ने टर्क र ब्रेक हर्स पावर (बीएचपी) बाट मापन गरिन्छ । सामान्य चलनचल्तीमा इञ्जिनको सीसीलाई यसको क्षमताको मापदण्डको रुपमा लिने गरिन्छ । तर, कतिपय अवस्थामा कम सीसी भएको इञ्जिन पनि बढी पावरफूल हुनसक्छ ।
मेकानिकल भाषामा इञ्जिनमा कति रेभोलूसन परमिनेट (आरपीएम) मा कति बीएचपी र कति आरपीएममा कति टर्क उत्पादन गर्छ, त्यसले यसको क्षमता निर्धारण गर्ने गर्छ ।
टर्क

टर्क एक टुइस्टीङ फोर्सको मापन हो । यसलाई न्यूटन मिटर (एनएम) ले मापन गरिन्छ । जस्तो, कुनै बोतलको बिर्को घुमाएर खोल्न लाग्ने पावर टर्क हो । डिजेल इञ्जिनले बढी टर्क उत्पादन गर्छ, त्यसकारण हेविवेटको काम गर्ने सवारीसाधनहरूमा डिजेल इञ्जिन दिइएको हुन्छ ।
सामान्यतया इञ्जिनले सुरुको स्पीडमा बढी टर्क उत्पादन गर्छ । त्यसबेला इञ्जिनको आरपीएम पनि कम हुने गर्छ । त्यसैले एक वा दुई नम्बरको गियरमा गाडीलाई उकालो चढ्न सजिलो हुन्छ ।
बीएचपी

बीएचपी भनेको ब्रेक हर्स पावर हो, यसले इञ्जिनको पावर नाप्ने गरिन्छ । बीएचपी निकाल्न फर्मूलाको प्रयोग गरिन्छ । बीएचपी निकाल्न टर्कलाई आरपीएमले गुणा गरी ५२५२ ले भाग गर्नुपर्छ । जसको मतलब टर्क र आरपीएम बढ्यो भने बीएचपी पनि बढ्छ र टर्क र आरपीएम घट्यो भने पावर पनि घट्छ ।
तर, हर्स पावरको बढाई इञ्जिनको फिक्स क्षमतासम्ममात्र हुने गर्छ । किनकी आरपीएम क्षमताभन्दा धेरै बढ्दैन र यो बढेमा इञ्जिन बिग्रन वा फुट्न पनि सक्छ ।
बीएचपी=आरपीएम गुणा टोक्र्यू ९द्यज्ए. च्एः ह् त्यचत्रगभ० छद्दछद्द
आरपीएम

आरपीएम (रेभुलूसन परमिनेट) ले इञ्जिनले एक मिनेटमा कति फन्को लगाउँछ, त्यसलाई मापन गर्छ । यो गाडीको ड्यास बोर्डमा रहेको बीएचपी मिटरमा देखाउँछ । माथिको उदाहरणमा कति स्पीडमा बोतलको बिर्को खोलिन्छ, त्यो आरपीएम हो । यदि इञ्जिन ५२५२ आरपीएमभन्दा कम स्पीडमा घुम्छ भने त्यसको टर्क धेरै हुन्छ भने ५२५२ आरपीएमभन्दा बढी स्पीडमा घुम्छ भने त्यसको बीएचपी बढी हुन्छ ।
सानो इञ्जिन धेरै आरपीएममा चल्नसक्छ भने ठूलो इञ्जिन कम आरपीएममा मात्र चल्नसक्छ । जस्तो कि बाइकको इञ्जिन १२ हजार आरपीएमसम्म चल्न सक्छन्, तर कारहरू आठ हजार आरपीएममात्र चल्छन् ।
टर्क र बीएचपी आवश्यकताअनुसार ट्यून गर्न सकिन्छ । जस्तो, महेन्द्राको बोलेरो, टोयोटा फर्चूनर र फोर्स ट्राभलरमा बराबर २.५ लिटरको इञ्जिन प्रयोग भएको छ । तर, यी गाडीहरूको प्रयोग फरक–फरक प्रकृतिको भएकोले यिनीहरूको टर्क र बीएचपी पनि फरक–फरक छ ।
बलेनोको इञ्जिनले ६५ बीएचपी वा १९५ एनएम टर्क उत्पादन गर्छ भने फर्चूनरले १४२ बीएचपी वा ३४२ एनएमको टर्क उत्पादन गर्छ । त्यस्तै, फोर्स ट्राभलरले ९० बीएचपी वा २४० एनएमको टर्क उत्पादन गर्छ । इञ्जिनको क्षमता बराबर भए पनि यसले उत्पादन गर्ने पावर यसको कामअनुसार फरक–फरक बनाइएको छ ।
बलेनोमा धेरै गहुंगो सामान बोक्नुपर्ने भएकोले यसमा स्पीड बढी नभए पनि हुन्छ । तर, सामान बोकेर अघि बढ्ने पावर धेरै हुन जरुरी छ । त्यस्तै, फर्चूनरमा बढीमा आठजना मानिस यात्रा गर्ने हो, तर यसलाई बढी स्पीड जरुरी हुन्छ । त्यस्तै, फोर्स ट्राभलरमा बढी मान्छे यात्रा गर्छन् । पुलिङ्गपावर धेरै चाहिन्छ, तर यसलाई स्पीड धेरै जरुरत पर्दैन ।
सामान्य भाषामा भन्नुपर्दा धेरै हर्सपावर छ भने त्यसको स्पीड धेरै हुन्छ र टर्क धेरै भएमा त्यसको सामान बोक्ने क्षमता वा ओभरटेक गर्ने क्षमता (एक्सलरेट) बढी हुन्छ ।
बीएचपीले गाडीको टप स्पीड निर्धारण गर्छ, धेरै बीएचपी इञ्जिन भएको गाडीको टप स्पीड कम बीएचपीकोभन्दा धेरै हुने गर्छ । माथिको उदाहरणमा हेर्ने हो भने पनि फर्चूनरको टप स्पीड धेरै हुन्छ, टप स्पीडलाई टर्कले खासै फरक पार्दैन ।

