नेटा अटो किन्दै टोयोटा !

काठमाडौं । जापानी अटोमोवाइल जाइन्ट टोयोटा मोटर्सले चिनियाँ स्टार्टअप कम्पनी नेटा खरिद गर्ने प्रक्रिया अगाडि बढाएको समाचारहरु बाहिर आएका छन् । ‘कुआई टेक्नोलोजी’ले मे १२ तारिखमा सार्वजनिक गरेको रिपोर्ट अनुसार नेटा अटोको मुल्याङ्कन चलिरहेको दावी गरिएको हो ।

नेटा अटो वा टोयोटा दुबैले यस कुरालाई अहिलेसम्म पुष्टि गरेका छैनन् । तर, चीनमा टोयोटाको बजार बिस्तार गर्न यो बलियो रणनीति हुने अनुमान गरिएको छ । यदि, टोयोटाले खरिद गरे नेटाको अन्तर्राष्ट्रिय बजार बिस्तारमा पनि कायापलट हुने अनुमान गरिएको छ ।

सन् २०१४ मा स्थापना भएको होजोन न्यू इनर्जी कम्पनी सन् २०२४ को मध्यबाट आर्थिक संकट भोगिरहेको छ । सन् २०२५ को फेब्रुअरीमा पनि कम्पनीले ६२१ मिलियन डलर लगानी ल्याउने प्रयास गरेको थियो, त्यो पनि सफल हुन सकेन । सन् २०२३ मा ५ अर्ब ८० करोड अमेरिकी डलर मूल्याङ्कन पुगेको नेटाको सम्पत्ति क्रमिक रुपमा घट्दै गयो ।

सन् २०२५ मा केबल कम्पनीको मूल्याङ्कन ८२८ मिलियन डलर बाँकी रहेको छ । यसरी दुई वर्षमा नै नाटकिय पतन देखेको नेटाको घाटा पनि ठूलो परिमाणमा पुगेको छ । कम्पनीको संचित नोक्सानी २ अर्ब ५३ करोड डलर छ । आफ्ना पार्ट्स सप्लायरलाई कम्पनीले बक्यौता रकम सेयरमा परिणत गर्न आग्रह गरिरहेको समाचारहरु बाहिर आएका थिए ।

नेटाको समस्या यतिमा मात्रै सिमित छैन । कम्पनीले थाइल्याण्डमा चाँडै ठूलो जरिवाना तिर्नु पर्ने हुनसक्छ । कम्पनीले २०२५ सम्ममा स्थानिय उत्पादनमा आधारित रहने प्रतिवद्धता जनाउँदै प्रति गाडी १ लाख ५० हजार भाट (४१०० अमेरिकी डलर) अनुदान पाइरहेको छ । तोकिएको लोकलाइजेशन गर्न नसकेको खण्डमा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ।

निकै संकट झेलिरहेको नेटामा टोयोटाले लगानी गरेको खण्डमा त्यसले भोलिका दिनमा नेटा कसरी अगाडि बढ्छ, त्यो हेर्न रोचक हुनेछ । टोयोटाको लगानी आएन भने नेटाको भविष्य थप संकटतर्फ जाने निश्चित प्रायः छ ।


Back_to_top