काठमाडौं । गाडी उत्पादनको प्रक्रिया र प्रोसेसमा ठूलो अन्तर सृजना हुँदैछ । विश्वकै ठूलो हाइभोल्टेज ब्याट्री निर्माता सीएटीएलले अब ब्याट्री मात्र होइन, कार निर्मातालाई चेसिस पनि बेच्न थालेको हो ।
कम्पनीले बनाएको पहिलो ‘अल्ट्रा-सेफ स्केटबोर्ड चेसिस’ माज्दा र चांगानलाई बेच्ने भएको हो । माज्दा र चांगानले सीएटीएलको बेडरोक नामक चेसिस प्रयोग गरेर ईभी बजारमा ल्याउने घोषणा गरेका छन् ।
सीएटीएलका अनुसार कम्पनीले बनाएको ‘अल्ट्रा-सेफ स्केटबोर्ड चेसिस’ अहिलेसम्म प्रयोग भएका अन्य चेसिसको चुलनामा निकै सुरक्षीत छन् । ग्यासोलिन कारको तुलनामा त झनै सुरक्षीत रहेको कम्पनीको भनाइ छ ।
गत डिसेम्बर २४ तारिखमा सीएटीएलले बेडरोक चेसिस टेस्ट गरेको थियो । उक्त परीक्षणमा गाडीलाई १२० किलोमिटर प्रतिघन्टाको स्पीडमा ठोकिएको थियो । त्यो अवस्थामा पनि गाडीमा कुनै किसिमिको धुवाँ आउने र आगलागीको घटना भएको थिएन ।
ड्यूल एक्सट्रीम सेफ्टी टेस्ट पास गरेको बेडरोक चेसिस हाइस्पीड र स्ट्रङ इम्प्याक्टमा पनि केही नहुने भएसँगै धेरै कार निर्माताले यसलाई पच्छाउन लागेका हुन् । अहिले पनि विश्वभर ६० किलोमिटर प्रतिघन्टाको स्पीडमा गाडीको इम्प्याक्ट टेस्ट गरेर सेफ्टी रेटिङ गर्ने गरिन्छ । त्यसको तुलनामा दोब्बर स्पीडमा सीएटीएलले परीक्षण गरेको छ । दोब्बर बढी स्पीडमा इम्प्याक्ट झण्डै ५ गुणा बढी हुन्छ ।
ईभी उत्पादन गर्न चाहने तर आफ्नै चेसिस पनि बनाउन नचाहने उत्पादकको लागि सीएटीएलको बेडरोक चेसिस बेजोड हुन सक्छ । चिनियाँ अटोमोवाइल ब्यवसायको स्वरुपनै परिवर्तन गर्न सक्ने यस्तो चेसिसमा बन्ने गाडी आगामी वर्षबाट बजारमा आउने अनुमान गरिएको छ ।