माग घट्दै जाँदा उत्पादनमा जोडिएका कर्मचारीलाई बिदा दिँदै टेस्ला

काठमाडौं । टेस्लाको खराब यात्रा रोकिने नामोनिसान छैन । अमेरिकी कार निर्माताले आफ्नो सफल उत्पादन मोडल वाईको बिक्रीमा आएको गिरावटसँगै उत्पादन लाइनअपमा काम गर्ने कर्मचारीलाई मेमोरियल डेको अवसर पारेर एक साता लामो बिदा दिएको हो ।

टेस्लाको प्रोडक्सन लाइनअपमा काम गर्ने कर्मचारीलाई उल्लेख गर्दै बिजनेश इन्साइडरले लेखेको छ, ‘अहिले टेक्सासको अस्टिनमा रहेको कारखानामा उक्त निर्णय लिइएको हो । मे अन्तिम साता साइबर ट्रकको उत्पादनमा रहेका कर्मचारीलाई बिदा लिन भनिएको छ ।

रिपोर्ट अनुसार प्रतिघण्टाको दरले तलब पाउने कर्मचारीलाई बिदा लिन वा सफाई र तालिम सम्बन्धी काम गर्न भनिएको छ । कर्मचारीका अनुसार गाडीको उत्पादन कटौती गरिएको र कर्मचारीको ओभर टाइम पनि कटौती भएको बताए ।

टेस्लाका सीईओ इलन मस्क ह्वाइट हाउसको नजिक रहेर राजनीतिमा सक्रिय हुँदा कम्पनीले ठूलो क्षति व्यहोर्न परेको मानिन्छ । अमेरिका र युरोपमै टेस्लाको बजार हिस्सा घट्दै जाँदा कम्पनीले बिक्री बढाउने योजना अहिलेसम्म बाहिर ल्याउन सकेको छैन ।

टेस्लाको महत्वाकांक्षी उत्पादन साइबर ट्रकको असफलतासँगै नयाँ आएको मोडल वाईले पनि अपेक्षा अनुसारको व्यापार गर्न नसकेपछि पूरै कम्पनीमा हलचल सुरू भएको छ । लगानीकर्ताले सीईओ मस्कको विकल्प खोज्न भने पनि अहिलेसम्म बोर्डले त्यसमा ठोक कदम चालेको छैन । बरू तत्काल त्यो सम्भव नभएको बताउँदै आएको छ ।


Back_to_top