काठमाडौं । आगामी कात्तिक भित्र संचालनमा ल्याइने देशको पहिलो नागढुंगा-सिस्नेखोला सुरुङमार्गमा सवारी साधन अनुसार शुल्क (टोल) तिर्नुपर्ने प्रस्ताव गरिएको छ ।
सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङ प्रयोग गरेबापत सवारी साधन अनुसार फरक फरक शुल्क तिर्नुपर्ने प्रस्ताव गरेको हो ।
महाशाखाले प्रस्ताव गरेको शुल्क सडक बोर्ड नेपालले पारित समेत गरेको छ । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले सुरुङमार्ग भित्र गुड्ने सवारी साधनले तिर्नुपर्ने टोल शुल्क बोर्डबाट पारित गरिएको जानकारी दिए ।
‘सडक विभागले सवारी साधन अनुसार फरक फरक टोल शुल्क प्रस्ताव गरेर पठाएको छ,’ उनले मेरोअटोसँग भने, ‘प्रस्तावित शुल्क सडक बोर्डबाट पारित भइसक्यो । अब स्वीकृतिका लागि मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पठाउँछौं ।’
मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै अन्तिम शुल्क टुंगो लाग्ने उनले बताए । प्रस्तावित शुल्क मन्त्रिपरिषद्ले परिमार्जन पनि गर्न सक्ने उनको भनाइ छ । मन्त्रिपरिषद्ले पारित गरेको शुल्क राजपत्रमा प्रकाशित गरिने छ ।
उनले सुरुङमार्गको संचालन खर्च उठ्ने गरी मात्रै शुल्क निर्धारण गरिएको बताए । ‘सुरुङमार्गको संचालन खर्च महँगो हुन्छ । ब्रेक इभनमा चल्ने गरी मात्रै शुल्क निर्धारण गरिएको हो,’ कार्यकारी निर्देशक केसीले भने ।
प्रस्तावित शुल्क कम्तीमा २ वर्षसम्म संशोधन नहुने उनले बताए । त्यसपछि परिस्थिति हेरेर समायोजन गरिने उनको भनाइ ।
भित्रिनेभन्दा बाहिरिने शुल्क सस्तो
विभागले सवारी साधनलाई ४ वर्गमा वर्गीकरण गरी भित्रिँदा र बाहिरिँदा फरक फरक शुल्क लाग्ने प्रस्ताव गरेकाे छ । जसमा सुरुङमार्गबाट काठमाडौं भित्रिनेभन्दा काठमाडौंबाट बाहिरिने शुल्क सस्तो तोकिएको छ ।
सुरुङमार्ग हुँदै काठमाडौं आउने साना चारपाँग्रे सवारी साधन कार, भ्यान, पिकअप, माइक्रो बसले ७५ रुपैयाँ शुल्क तिर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, सुरुङमार्ग हुँदै काठमाडौंबाट बाहिरिँदा यी सवारीसाधनले आउँदाकोभन्दा २५ रुपैयाँ कम अर्थात् ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
त्यसैगरी, मिनी बस, मिनी ट्रक र टिपर सुरुङमार्ग हुँदै काठमाडौं आउँदा १२५ रुपैयाँ र बाहिरिँदा १०० रुपैयाँ शुलक तिर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, बस र ट्रकले काठमाडौंतर्फ आउँदा २५० रुपैयाँ बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
प्रस्तावित शुल्क अनुसार सुरुङमार्ग प्रयोग गरेबापत हेभी सवारी साधन (लरी)ले भने सबैभन्दा धेरै रकम तिर्नुपर्नेछ । जसमा काठमाडौंतर्फ आउँदा ५०० रुपैयाँ र बाहिरिँदा ३०० रुपैयाँ तिर्नुपर्नेछ । यद्यपि, प्रस्तावित शुल्क मन्त्रिपरिषद्ले परिमार्जन समेत गर्न सक्नेछ ।
सुरुङमा कस्ता गाडी गुड्न पाउँछन् ?
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका, २०८१ अनुसार सुरुङमार्गमा सबैखाले सवारी साधन गुडाउन पाइँदैन ।
निर्देशिका अनुसार सुरुङ भित्र दुईपाँग्रे (मोटरसाइकल/स्कुटर), तीनपाँग्रे (ट्याम्पु, अटोरिक्सा), डिजेल, पेट्रोल लगायत पेट्रेलियम पद्धार्थ बोकेका ट्यांकरलाई प्रवेश निषेध गरिएको छ । त्यस्तै, सुरक्षा निकायका बाहेक हातहतियार बोकेका, विस्फोटक पदार्थ बोकेका, दुर्गन्धित गन्हाउने, कुहिएका सवारी साधन बोकेका, नन मोटराइज्ड सवारी साधन पनि सुरुङ भित्र गुडाउन पाइँदैन ।
सुरुङमार्ग भित्र १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.२५ मिटर उचाइभन्दा ठूला सवारीसाधन चलाउन नपाउने निर्देशिकामा उल्लेख छ ।
माथि उल्लेखित बाहेक अरू सबैखाले कार, जीप, भ्यान, माइक्रोबस, बस, ट्रक, टिपर, लरी लगायत सवारी साधन सुरुङमार्गमा चलाउन पाइन्छ । सुरुङमार्गमा गुड्ने सवारी साधनको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर तोकिएको छ ।
कति सकियो काम ?
नागढुंगा सुरुङमार्ग चालु आवको कात्तिकसम्म संचालनमा ल्याउने लक्ष्य राखिएको छ । आयोजना अन्तर्गतका अधिकांश भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन् । हाल सुरुङ भित्र बिजुली बत्ती, भेन्टिलेसन, फायरफाइटिङ लगायत उपकरण जडानको काम भइरहेको छ ।
२२ अर्ब लगानीमा निर्माण भइरहेको यस सुरुङमार्गको हालसम्म भौतिक प्रगति करिब ८९ प्रतिशत छ । वित्तीय प्रगति ८६.३५ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २ हजार ५५७ मिटर लामो अपतकाली सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । त्यस्तै, आयोजना अन्तर्गत ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, १ ओभर पास र ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । बलम्बुमा फ्लाइओभर ओभर निर्माण पनि ९५ प्रतिशत पूरा भइसकेको छ ।
४२ महिनामा निर्माण सक्नेगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो । सुरु सम्झौता अनुसार सुरुङमार्गको काम २०८० वैशाखामा सम्पन्न हुनुपर्थ्यो ।
नेपालकै पहिलो सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका-१ को टुटीपाखामा रहेको छ । धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ । टनेलमा मुख्य दुई वटा लेन छन् ।
यो सुरुङ जापानी कम्पनी हाज्मारआन्दो जेभीले निर्माण गरिरहेको छ ।