काठमाडौं । विश्वकै सबैभन्दा ठूलो गाडी उत्पादक कम्पनी टोयोटाले ‘क्राउन’ नामबाट क्रसओभर मोडल बजारमा ल्याउने भएको छ । कम्पनीले यसलाई क्रसओभर, कुपे एसयूभी, इलेक्ट्रीक र सेडान भर्सनमा ल्याउने भएको हो ।
टोयोटाले क्राउन नामबाट क्रसओभर मोडलको भने जापानबाट विक्री सुरु गरेको हो । क्राउनको पहिलो मोडलको रुपमा आएको क्राउन क्रसओभर आरएस, जी र एक्स भेरियन्टमा उपलब्ध गराइएको छ । यी मोडलको मूल्य क्रमशः ६० लाख ५० हजार, ४७ लाख ५० हजार र ४३ लाख ५० जापानी यान तोकिएको छ ।

यी तीनवटै भेयिन्ट अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेका छन् । कम्पनीले टप भेरियन्ट आरएसमा २.४ लिटर टर्बो हाइब्रिड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३४५ हर्स पावर शक्ति प्रदान गर्छ । त्यसैगरी, जी र एक्स भेरियन्टमा २.५ लिटर नेचुरल्ली एस्पीरेटेड हाइब्रिड इन्जिन दिएको छ । उक्त इन्जिनले २३९ हर्सपावर प्रदान गर्छ ।

अन्य तीन मोडल आउने

टोयोटाले क्राउन नामबाट अन्य तीन नयाँ मोडल बजारमा ल्याउने जनाएको छ । कम्पनीले ल्याउने अर्को मोडल ४ ढोका भएको प्रिमियम सेडान हुने कम्पनीले जनाएको छ । कम्पनीले क्रसओभरको तुलनामा यसको अगाडि र पछाडिको भागमा परिमार्जन गर्ने छ । टोयोटाले यसलाई क्राउन सेडान नामबाट बजारमा ल्याउने अनुमान गरिएको छ ।

टोयोटाले क्राउन स्पोर्टस् नामबाट कुपे डिजाइनको एसयूभी बजारमा ल्याउने छ । यसको डिजाइनमा फरक पन पाउन सकिन्छ । यसको डिजाइन टोयोटा क्रसओभर ईभीबाट प्रेरित रहनेछ । त्यसैले यो टोयोटाको पूर्ण इलेक्ट्रीक मोडल हुने अनुमान गर्न सकिन्छ ।

अन्तिममा कम्पनीले यसलाई फुल साइज एसयूभीको रुपमा पनि बजारमा ल्याउने अनुमान गरिएको छ । यो विषयलाई कम्पनीले सार्वजनिक गरेको तस्विरले पनि पुष्टी गर्छ ।


